२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

राजधानीमा ‘पिक एन्ड ड्रप’ लागु, यात्रुलाई भने सास्ती


१२ पुस २०७५, बिहिबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

काठमाडौं महानगरपालिकाले पुस एक गतेबाट यात्रु चढाउने र ओराल्ने नियम(पिक एन्ड ड्रप) नियम लागु गर्‍यो।

चालकहरुले जथाभावी सवारी रोकेर यात्रुलाई चढाउने, ओराल्ने र निकै समय पर्खने भएकाले ट्राफिक जाम भएको कारण देखाउँदै महानगरले  सडक विभाग, यातायात संघ र ट्राफिक प्रहरीको समन्वयमा नियम लागू गरेको हो।

नियम कडा रुपमा लागु गर्न थालेपछि यात्रुले भने सास्ती पाउन थालेका छन्।

यसअघि सहिद गेट, सुन्धारा, रत्नपार्क, भृकुटीमण्डपमाप्राय सबै सवारीसाधनहरुले यात्रुहरुलाई चढाउने र ओराल्ने गर्दै आइरहेका थिए। अहिले भने पिक एन्ड ड्रप स्टेसनसमेत परिवर्तन भइसकेको रहेछ।

लगनखेल रत्नपार्क माइक्रो चलाउने अर्घाखाँचीका रेमबहादुर अधिकारीले यात्रुलाईमात्र हैन चालकले पनि दु:ख पाएको सुनाए । अधिकारीले स्ट्रिरिङ घुमाउँदै आफ्नो सास्ती सुनाउन थाले, ‘सास्ती त सिन्डिगेटबाटै सुरु भएको थियो।  सिन्डिगेट तोडे पनि व्यावस्थापन हुन सकेन। अहिले त सधै यात्रु चढाउने ठाउँमासमेत रोक्न पाइदैन।’

भृकुटीमण्डपको राष्ट्रिय सभागृह नजिकैको बस बिसौनीमा यात्रुहरु बस पर्खिरहेका थिए । तर त्यहाँ ट्राफिक प्रहरीले बस रोक्न दिँदैनथे । त्यहाँबाट भद्रकाली मन्दिरसम्म ट्राफिक प्रहरीको लाईन थियो।

साँझको बेला सधैं बस बिसाउने ठाउँमा बस नपाएपछि यात्रु आक्रोशित देखिन्थे । एकैछिन रोक्ने बसमा बलिया युवाहरुमात्र उक्लेको र ओर्लेको देखिन्थे । वृद्धवृद्धाका लागि उक्लने र ओराल्ने समय नै पाउदैनथियो ।

पुतलीसडकमा गाडी नरोकिने थाहा पाएपछि भृकुटीमण्डप आइपुगेकी मनिषा खत्रीले यहाँ पनि गाडीमा चढ्न नपाएपछि ट्राफिकसँगै रिस पोखिन् । भनिन्, ‘यो विल्कुल हामीमाथि अन्याय भयो। घरमा म ठुलो मान्छे एक्लो छु। मेरो साना साना दुई वटा बच्चा छ। कताबाट बस चढेर जाने हो तपाइ नै भन्नुस ।’

ट्राफिक माइकबाट नयाँ रुटबारे जानकारी दिन व्यस्त थिए ।

बुढानिलकण्ठ जाने गाडी नपाएपछि निर्मला कार्की रत्नपार्कबाट भृकुटीमण्डपमा आइपुगेकी रहेछिन् ।

उनले पनि ट्राफिक प्रहरीमाथि गुनासो सुनाउँदा प्रहरीले उल्टै हप्काएको दुखेसो पोखिन् । भनिन्, ‘यस्तो किन गर्नु भएको हामी कसरी दैनिक यात्रा गर्नु भनी सोध्दा उल्टै हामीलाई हाम्रो काम गर्न दिनुस्, अनि तपाई यहाबाट जाउ भने । कहाँ बाट चढ्ने भनि सोधबुझ गर्न पनि पाईदैन ।’

सडकमा खटिएका प्रहरी निरीक्षक भगीरथ रेग्मीले जाम हटाउन ‘पिक एन्ड ड्रप’ नियम लागु गरिएको बताए । यसरी त यात्रुले दु:ख पाए नि? हाम्रो प्रश्नको जवाफमा रेग्मीले भने, ‘यो सबै यात्रुकै सुरक्षाका लागि हो। अनि जाम हटाउनु प्रमुख उद्देश्य हो ।’

प्रकाशित मिति : १२ पुस २०७५, बिहिबार  ११ : २२ बजे