१८ कार्तिक २०८१, आइतबार | Sun Nov 3 2024

बेलायतमा पनि कांग्रेसले मेलमिलाप दिवस मनाउँदै, नेता नगेन्द्र कुमाल प्रमुख अतिथि


१२ पुस २०७५, बिहिबार  

0
Shares

डिसेम्बर । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले ४३औं राष्ट्रिय मेलमिलाप दिवसको तयारी गरिरहेको छ । डिसेम्बर ३० मा अल्डरसटमा हुने कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका पूर्व अध्यक्ष नगेन्द्रकुमार कुमाल प्रमुख अतिथिका रुपमा आइपुग्ने समितिका प्रवक्ता खुसी लिम्बुले जानकारी दिए ।

कांग्रेस नेता कुमाल संबिधान सभाका पूर्व सभासद र नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष हुन् । नेता कुमाल डिसेम्बर २८ मा बेलायत पुग्ने छन् ।

मेलमिलाप दिवसमा सहभागी हुन पाउनु गर्वको विषय भएको नेता कुमालले बताए।

वीपी कोइराला आफै पनि समावेशी नीति बोक्ने नेता भएकाले उनको सम्मानमा मेलमिलाप दिवस भव्य रुपमा मनाउनुपर्ने नेता कुमालको भनाई थियो। भने, ‘वीपी कोइरालाले पार्टीमा समावेशी नीति अपनाएका थिए। धनमानसिंह परियार, भीमबहादुर तामाङदेखि सबैलाई अटाएका थिए। त्यसैले मेलमिलाप दिवस भव्य रुपमा मनाउनुपर्छ।’

देश समावेशी र धर्मनिरपेक्षतामा जान पार्टी र संसदमा आफुले आवाज उठाएको कुमालले बताए। कांग्रेसले देशभर र विदेशस्थित नेपाली रहेका स्थानमा मेलमिलाप दिवस मनाउँदै छ।

कांग्रेसका संस्थापक नेता स्व. बीपी कोइराला भारतमा आठ बर्ष लामो निर्वासनपछि २०३३ मा नेपाल फर्केको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।

२०१७ राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरेर सत्ता हातमा लिएपछि बीपी भारतमा निर्वासित थिए । तत्कालीन अवस्थामा भारतमा पनि संकटकाल लागेको अवस्थामा नेपालको राष्ट्रियताको खतरामा परेको र प्रजातन्त्र पुनर्स्थापनाका लागि तत्कालीन अवस्थामा राजासंग मेलमिलाप जरुरी भएको बिश्लेषण गर्दै २०३३ साल पौष १६ गते गणेशमान सिंह लगायतका सहकर्मीहरु सहित बीपी मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : १२ पुस २०७५, बिहिबार  ५ : ०० बजे