७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

‘समवेदना’ को ठाउँमा ‘बधाई’ लेखेकोमा परराष्ट्रले माग्यो माफी, गल्ती गर्नेलाई कारवाही गरिने


१२ पुस २०७५, बिहिबार  

0
Shares

काठमाडौं : परराष्ट्र मन्त्रालयले ‘समवेदना’ लेख्नु पर्नेमा ‘बधाई’ हुन गएकोमा माफी मागेको छ । बिहीवार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको सचिवालयले एक विज्ञप्ति जारी गर्दै क्षमयाचना गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्युबाट इन्डोनेसियाका महामहिम राष्ट्रपतिज्युलाई प्रेसित सन्देशमा त्रुटि भएको नभई मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा यस्तो त्रुटि हुन गएको देखिन्छ । त्रुटिसहित मन्त्रालयले तत्कालै क्षमायाचनासिहत स्पष्ट पारिसकेको छ ।’

त्यसैगरी गल्ती गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको छ ।

बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोनेसियामा गएको सुनामीका कारण मृत्यु हुनेहरु प्रति समवेदना प्रकट गर्दै त्यहाँका राष्ट्रपति जोको विडोडोलाई समवेदना सन्देश पठाएकी थिइन् । राष्ट्रपतिले पठाएको सन्देश सम्बन्धी सूचना जारी गर्ने क्रममा  परराष्ट्रले जारी गरेको विज्ञप्तिमा ‘समवेदना’ शब्दको स्थानमा ‘बधाई’ शब्द लेखिएको थियो ।

यही विषयलाई लिएर परराष्ट्र मन्त्रालयको आलोचना भएपछि मन्त्रालयले गल्ती गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको हो।

सचिवालयले सो घटनामा सम्बन्धित कर्मचारीलाई छानविन गरी कारवाही गर्न मन्त्री ज्ञवालीले निर्देशन दिएको उल्लेख छ।

वक्तव्यमा राष्ट्रपतिले त्यहाँका राष्ट्रपतिलाई पठाएको सन्देशमा त्रुटी नभएको उल्लेख गर्दै मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा त्रुटी भएको उल्लेख छ।

‘त्रुटी कसरी हुन गयो भन्नेबारे सम्बन्धित अधिकारीहरुसँग स्पष्टीकरण माग गरिएको छ र तथ्य पत्ता लागेपछि संलग्नलाई उचित कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ,’ मन्त्री ज्ञवालीको सचिवालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।

प्रकाशित मिति : १२ पुस २०७५, बिहिबार  ८ : ३५ बजे