काठमाडौं । शेर्पा समूदायका विभिन्न संघसंस्थाले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका विषयमा आएका भ्रमपूर्ण समाचारबाट ध्यानाकर्षन भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै अनुसन्धान भइरहेको विषयलाई भ्रमपूर्ण तरिकाले सम्प्रेषण गरी समग्र मुलुकलाई आँच पुर्याउने काम गरेको दाबी गरेको छ ।
‘अष्ट्रेलियाका लागि नेपालकी महामहिम राजदुत लक्की शेर्पा माथि लागेको आरोपप्रति परराष्ट्र मन्त्रालयले अनुसन्धान गरिरहेको र कुनै पनि अधिकारिक निर्णय सर्वजानिक नभई पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरूले मन्त्रीपरिषदबाट बर्खास्त, राजिनामा दियो जस्ता भ्रमपूर्ण समाचारहरू सम्प्रेषण गरिएको प्रति सम्पूर्ण शेर्पा संघ, संस्था लगायत समग्र समुदायको ध्यानकर्षण भएको छ । यस्ता तथ्यहिन समाचारहरूले महामहिम लक्की शेर्पा मात्र नभई समग्र शेर्पा समुदाय, आदिवासी र समग्र मुलुकलाई आच पुग्ने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले परराष्ट्र मन्त्रालयको अधिकारिक निर्णय नभए सम्म आधार रहित समाचारहरू सम्प्रेषण नगरिदिनु हुन सम्पूर्ण सञ्चार माध्यमहरूमा यसै प्रेस विज्ञाप्ती मार्फत अनुरोध गर्दछौं ।’
विज्ञप्तिमा नेपाल शेर्पा संघका अध्यक्ष आङदोर्जी लामा, नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रकी वरिष्ठ उपाध्यक्ष आङडोमा शेर्पा, नेपाल शेर्पा विद्यार्थी संघका महासचिव ङेमा छिरिङ शेर्पा, नेपाल शेर्पा युवा संघका उपाध्यक्ष फुर ल्हाक्पा शेर्पा र शेर्पा संचार समूह नेपालका महासचिव पासाङ शेर्पाको हस्ताक्षर रहेको छ ।