न्युयोर्क । अमेरिकामा बसोबास गर्ने किरात राईहरुले सामूहिक रूपमा किरात येले संवत् ५०७९ मनाएका छन् ।
किरात राई सोसाइटी अफ अमेरिका न्ययोर्क च्याप्टरको आयोजनामा येले संवत् ५०७९ मनाइएको हो ।
येले संवत् किरात राई, लिम्बू, याक्खा, सुनुवारलगायत समुदायको साझा सांस्कृतिक तथा ऐतिहासिक संवत् हो । यसलाई किरात समुदायले आफ्नो नयाँ वर्षको रुपमासमेत मनाउन थालेका छन् ।
तरुल, चाकु, तिलको लड्डु, सेल रोटी खाँदै अमेरिकामा येले संवत् मनाइएको हो । कार्यक्रममा येले संवत्को सांस्कृतिक तथा ऐतिहासिक महत्त्वको बारेमा छलफल तथा अन्तक्र्रिया भएको किरात राई सोसाइटी अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष भारती राईले जानकारी दिइन् । ‘संस्कार संस्कृतिको महत्त्वबारे बालबालिकालाईसमेत सहभागिता गराउँदै सांस्कृतिक पुस्तान्तरणको अभ्यास अमेरिकामा प्रथम पटक गरिएको हो,’ अध्यक्ष राईले भनिन् ।
उक्त कार्यक्रममा संस्थाका वरिष्ठ केन्द्रीय उपाध्यक्ष खगेन्द्र राईले येले संवत्कोे ऐतिहासिक तथा सांस्कृतिक महत्त्वमाथि प्रकाश पार्दै येले संवत्ले किरात विरासत र इतिहासलाई मात्रै पहिचान नगर्ने बरु नेपालकै पहिचान र इतिहासको प्रतिनिधित्व गरेका उल्लेख गर्दै भने, ‘नेपाल सरकारले यसलाई कामकाज संवत् रूपमा मान्यता दिनु पर्छ ।’
प्रथम किरात राजा यलम्वरले नेपालमा शासन गरेको समयलाई मानेर येले संवत् प्रचलनमा ल्याइएको हो ।
यस संवत्लाई किरात राईहरुले येले दोङ तथा येले दुङ भन्दछन् भने लिम्बुहरूले येले तङ्बे र सुनुवारहरूले येले थोचे भन्ने गरेको पाइन्छ ।
काठमाडौँ उपत्यकामा किरात राजाका ३२ पुस्ताले शासन गरेको इतिहास छ । इतिहासकार तथा विज्ञहरूका अनुसार नेपालमा किरातहरुले करिब १८ सय वर्ष शासन गरेका थिए ।
किरात समुदायले हरेक वर्ष माघ १ गते येले संवत् मनाउने गरेका छन् ।