- बीके नेवा-
बङ्गलादेश राजनीतिक स्थिरतातर्फ अगाडि बढेको छ । आमनिर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजेदले ह्याट्रिक गरेसँगै राजनीतिक स्थिरता आएको हो । उहाँको दल अवामी लिगले तीन सय सिटका लागि भएको निर्वाचनमा २८८ स्थानमा विजय हासिल गरेको छ । यो जितसँगै हसिना लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नु भएको छ । उहाँले गएको सोमबार (जनबरी ७) मा प्रधानमन्त्रीको शपथ लिनुभयो ।
मुख्य विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी(बीएनपी)ले ६ सिट मात्र जितेको छ । त्यो दलले गएको डिसेम्बर ३० मा भएको चुनाव नाटक जस्तो र धाँधलीयुक्त भएको भन्दै स्वतन्त्र निकायको अधिनमा ताजा चुनाव हुनुपर्ने माग गरेको छ । यो दलले सन् २०१४ को आमनिर्वाचन बहिष्कार गरेको थियो । तर निर्वाचन आयोगले विपक्षीले भनेजस्तो धाँधली नभएकाले नयाँ चुनाव नहुने स्पष्ट गरेको छ ।
विपक्षी चुनाव हार्ने निश्चित भएपछि विपक्षी झन्डै एक सयजना उम्मेदवारले चुनाव बहिष्कार गरेका थिए । हसिनाको सरकारले विपक्षीले लगाएको आरोप अस्वीकार गरेको छ । चुनावका बेला सत्तारुढ दल र विपक्षी दलका समर्थकबीच भएका झडपमा कम्तीमा १७ जनाको ज्यान गएको थियो ।
हसिनाको सत्तारुढ दल आवामी लिग सन् २००९ देखि बङ्गलादेशको सरकारमा छ । विपक्षी नेत्री खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षका लागि जेलमा राखिएको छ । ७२ वर्षीया जियालाई बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको रकम हिनामिना गरेको पछिल्लो आरोप लगाइएको छ । जियाविरुद्ध अन्य आधा दर्जनजति मुद्दा छन् । भ्रष्टाचारको अभियोगले जियालाई संसदीय चुनाव लड्न प्रतिबन्ध लगाइएपछि सत्तारुढ अवामी लिगलाई चुनाव जित्न थप सहज भएको हो । जियासँग प्रधानमन्त्री हसिनाको दशकौँयता राजनीतिक प्रतिद्वन्द्विता छ । लन्डनमा रहेका जियाका छोरा तारिक रहमानलाई पनि भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय तोकिएको छ । जियाका अन्य सहयोगीहरुलाई पनि १० वर्षकै जेल सजाय सुनाइएको छ । भ्रष्टाचारकै कारण जिया र उहाँको पार्टी बीएनपीको भविष्य धरापमा परेको छ ।
बङ्गलादेश पाकिस्तानबाट सन् १९७१ मा टुक्रिएर बनेको नयाँ देश हो । यसको सीमारेखा सन् १९४७ मा भारतको विभाजनका बेला भएको थियो । यसलाई पूर्वी पाकिस्तानको नामबाट पाकिस्तानको पूर्वी भाग घोषित गरिएको थियो । पूर्व र पश्चिम पाकिस्तानबीच करिब १६ सय किमिको भौगोलिक दूरी थियो । पाकिस्तानको दुवै भागका जनताको धर्म इस्लाम थियो तर उनीहरूबीच जाति र भाषागत दूरी थियो । पाकिस्तानको तत्कालीन सरकारले गरेको अन्यायपूर्ण व्यवहारविरुद्ध सन् १९७१ मा भारतको सहयोगबाट एउटा छुट्टै बङ्गलादेश स्वतन्त्रता आन्दोलनपछि स्वतन्त्र राष्ट्र बङ्लादेशको उदय भयो । स्वतन्त्रता सङ्ग्राममा लाखौँ मानिसले ज्यान गुमाए । स्वतन्त्रतापछि वर्षौसम्म बङ्गलादेश राजनीतिक अस्थिरताको शिकार बन्यो । देशमा १४ शासक बदलिन पुगे र चारवटा सैनिक विद्रोह भए । सैनिक विद्रोहमा ठूलाठूला नेता मारिए ।
बङ्गलादेशमा सभ्यताको इतिहास धेरै पुराना छ । आजको भारतको अधिकांश पूर्वी क्षेत्र कुनै वेला बङ्गालको नामबाट चिनिएको थियो । बौद्ध ग्रन्थका अनुसार यस क्षेत्रमा आधुनिक सभ्यताको थालनी ७०० ईशापूर्वमा भएको मानिन्छ । यहाँको प्रारम्भिक सभ्यतामा बौद्ध र हिन्दु धर्मको प्रभाव स्पष्ट देख्न सकिन्छ । बङ्गलादेशमा उत्तरी भागमा स्थापित हजारौँ अवशेष अहिले पनि मौजुदा छन् जसलाई मन्दिर वा मठ भन्न सकिन्छ ।
बङ्गालको इस्लामीकरण मुगल साम्राज्यका ब्यापारीहरूद्वारा १३ आँै शताब्दीमा सुरु गरियो र १६ औँ शताब्दीसम्म बङ्गाल एसियाको प्रमुख ब्यापारिक क्षेत्रका रूपमा उदायो । युरोपका ब्यापारीहरूको आगमन यस क्षेत्रमा १५ औँ शताब्दीमा भयो । अन्ततः १६आँै शताब्दीमा बेलायतको इस्ट इन्डिया कम्पनीद्वारा उनीहरूको प्रभाव बढाउन सुरु भयो । १८ औँ शताब्दीमा यस क्षेत्रको नियन्त्रण पूर्णरूपले इस्ट इन्डिया कम्पनीको हातमा गयो जुन विस्तारै विस्तारै पूरै भारतमा फैलियो । जब स्वतन्त्रता आन्दोलनको फलस्वरूप सन् १९४७ मा भारत स्वतन्त्र भयो तब राजनीतिक कारणबाट हिन्दु बाहुल भारतलाई मुस्लिम बाहुल पाकिस्तानमा विभाजित गर्नुपर्यो ।
भारत विभाजित भएपछि बङ्गाल पनि दुई भागमा बाँडियो । यसको हिन्दु बाहुल इलाका भारतसँग रह्यो भने मुस्लिम बाहुल इलाका पूर्वी बङ्गाल पाकिस्तानको हिस्सा बन्यो । सन् १९५५मा पाकिस्तान सरकारले पूर्वी बङ्गालको नाम फेरेर पूर्वी पाकिस्तान राख्यो । पाकिस्तान सरकारद्वारा पूर्वी पाकिस्तानको उपेक्षा र दमनको थालनी यहींबाट भयो । शेख मुजिबुर रहमानको अगुवाइमा बङ्लादेशको स्वतन्त्रता आन्दोलन सुरु भयो सन् १९७१ मा भारतको सहयोगमा बङ्गलादेश स्वतन्त्र मुलुक बन्यो ।
पूर्वी पाकिस्तानलाई स्वतन्त्रता दिने उद्देश्यले सन् १९४९ मा अवामी लिग पार्टी स्थापना भयो । आन्दोलनको नेतृत्व गरेको यो पार्टीले १९७२ मा भएको आमनिर्वाचनमा प्रचण्ड बहुमत ल्यायो । शेख मुजिबुर रहमान प्रथम प्रधानमन्त्री बन्नुभयो । उहाँले मुलुकमा उद्योगधन्दाको राष्ट्रियकरणको अभियान चलाउनुभयो । सन् १९७५ मा उहाँ राष्ट्रपति बन्नुभयो । तर त्यसै वर्षको अगस्तमा भएको सैनिक विद्रोहमा उहाँको हत्या भयो र सैनिक शासन लागू भयो । सन् १९७७ मा जनरल जियाउर रहमान राष्ट्रपति बन्नुभयो । उहाँले इस्लामलाई संवैधानिक मान्यता दिनुभयो ।
सन् १९७९ संसदीय चुनाव भई सैनिक शासन समाप्त भयो । जनरल जियाउर रहमानको बङ्गलादेश नेसनलिस्ट पार्टीले बहुमत ल्यायो । सन् १९८१ भएको अर्को सैनिक विद्राहमा जनरल जियाउर रहमानको हत्या भयो । त्यसपछि अब्दुस सत्तार राष्ट्रपति बन्नुभयो । सन् १९८२ मा भएको अर्को सैनिक विद्रोहमा जनरल एर्साद सत्तामा आउनुभयो । संविधान र राजनीतिक दलमाथि प्रतिबन्ध लगाइयो । सन् १९८६ संसद् र राष्ट्रपतिका लागि निर्वाचन भयो, एर्साद विजयी हुनुभयो । सैनिक शासन हट्यो र संविधान पुनःवहाली गरियो । सन् १९८७ मा सङ्कटकाल लगाइयो । ठूलो जनविरोधपछि सन् १९९० मा एर्साद पदबाट हट्नुभयो ।
जनसङ्ख्याका हिसाबले संसारको आठौँ ठूलो बङ्गलादेशमा राजनीतिक उतारचढाव जारी रह्यो । कुनै समय हसिना र खालिदा दुई महिला नेत्रीबीच मित्रता थियो । सैनिक सत्ता हटाई लोकतन्त्र ल्याउन दुवै एकजुट हुनुभयो । लोकतन्त्रको बहालीसँगै सन् १९९१ मा जनरल जियाउर रहमानकी पत्नी खालिदा प्रधानमन्त्री बन्नुभयो । एर्सादलाई भ्रष्टाचारको आरोपमा जेल हालियो । त्यसपछि सत्ताका लागि दुवै नेत्रीबीच हानथाप भयो जसले राजनीतिक हिंसा र कटुता बढायो ।
सन् १९९६ मा अवामी लिग सत्तामा आयो र शेख मुजिबुर रहमानकी छोरी हसिना प्रधानमन्त्री बन्नुभयो । सन् २००१ चुनावमा अवामी लिग पराजित भयो । खालिदा पुन ः प्रधानमन्त्री बन्नुभयो । त्यसपछि हसिनाको दलले प्रदर्शन सुरु गर्यो । राजधानी ढाकामा अवामी लिगको र्यालीमा विस्फोट भयो र पार्टीले संसद् बहिष्कार गर्यो । कार्यबाहक सरकारको प्रमुख को बन्ने भन्ने विषयमा हसिना र खालिदाबीच सहमति हुन सकेन । सोही मौकामा कार्यबाहक सरकारका प्रमुख फखरुद्दिन अहमदले दुवै नेत्रीलाई भ्रष्टाचारको आरोप लगाउँदै जेल हालिदिनुभयो । केही समयपछि दुवै नेत्री जेलमुक्त हुनुभयो र आम निर्वाचन भयो । सन् २००९ ,२०१४ र २०१८ को आमनिर्वाचन भने लगातार अवामी लिगले जिती प्रधानमन्त्री हसिनाले ह्याट्रिक गर्नुभयो । विपक्षीसँग राजनीतिक विवादका बीच पनि अवामी लिगको लगातार विजयले मुलुकमा राजनीतिक स्थिरता आउने अपेक्षा गरिएको छ ।