शेर्पा किदुगको गुम्बामा अहिलेसम्म धेरै रिम्पोचेहरुको आगमान भइसकेको छ । रिम्पोचेहरुको आगमानसंगै सर्वसाधारणले बेला बेलामा रिम्पोचेहरुबाट प्रवचन र अभिषेक पाएका छन । धेरै जसो रिम्पोचेहरुले तिब्बती भाषामा प्रवचन दिएर अभिषेक दिदै आएका छन । तर यसै हप्ता सोलुखुम्बुमै जन्मेको अवतारी गुरु पेमा थर्र्छि रिम्पोचेले भने अभिषेक दिने क्रममा शेर्पा भाषामा प्रवचन दिएका थिए । कतिपय तिब्बतीयन भाषा नबुझनेहरुको लागी रिम्पोचेले शेर्पा भाषमा दिएको प्रवचन धैरै प्रभावकारी भएको छ ।
रिम्पोचे सोलुखुम्ब दुधकुण्ड नगरपालिकास्थित सेर्गोन लुङरिक् शेडुप जुङदेलिङ् ( सेर्लो गुम्बा ) का औतारी गुरु हुन । उनले न्युयोर्कमा पहिलो पटक च्याङतेर थुग्जे क्षेन्पो डोवा कुन्डोलको वाङ् -उत्तरनिधि परम्परा अनुसार महाकरुणामय सर्वजगत मोक्ष)को अभिषेक र प्रवचन प्रदान गरेका थिए । खचाखच भरिएको किदुगको हलमा रिम्पोचेले शेर्पा भाषामा बुद्ध धर्मको आधारभुत ज्ञान दिनुको साथै अभिषेकको बारेमा प्रवचन दिएका थिए । उनले आर्य अवलोकितेश्वरको पूर्ण अभिषेकको साथमा साधना विधि बारे समेत स्पष्ट व्याख्या गरेका थिए ।
रिम्पोचेको अभिषेक कार्यक्रमकै लागी त्यस दिन रिम्पोचेको कार्यक्रम सोलुखुम्बुका लिखु पिके, दुधकुण्डा नगरपालिका र रामेछाप जिल्ला लगायतका युवाहरु सम्मिलित मुल आयोजक समिति गठन गरेका थिए । ‘ अमेरिकामा शेर्पा रिम्पोचेबाट बौद्ध धर्मको महत्वपुर्ण ज्ञानका कुराहरु सुन्न र जान्न पाउदा निकै खुसी लाग्यो ‘ जाङबु शेर्पा गोलिले भने-‘ आफनै गाउबस्तीमा जन्मेको शेर्पा रिम्पोचेको सम्मानमा यस्तो महत्वपुर्ण धार्मिक कार्यक्रम आयोजना गर्न पाउदा आनन्दीत महसुस भयो ‘ । बौद्ध दर्शनको विकास र प्रर्वद्धन एवं परम्परागत गुम्बा शिक्षा सगै आधुनिक बौद्ध शिक्षा, ब्यावसायिक शिक्षा र समाज बिकासमा रिम्पोचेले दिएको अतुलनीय योगदानको कदर गर्दै शेर्पा किदुगले कार्यक्रममा सम्मान गरेका थिए ।