काठमाडौं । २० औं अन्तराष्ट्रिय मातृभाषा दिवसका अवसरमा कविता वाचन तथा विभिन्न जातजातिले झाँकी प्रदर्शन गरे । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय मातृभाषा कविता महोत्सवसमेत गरिएको थियो ।
बिहीवार राजधानीको कमलादिस्थित प्रज्ञा भवनमा भएको कार्यक्रमको शुरुमा १३ ओटा समुदायले आ-आफ्नै जातिको झाँकीसहितको र्याली भएको थियो । र्याली घण्टा घर, रत्नपार्क, बागबजार, पद्मकन्या क्याम्पसको मोड हुँदै प्रज्ञा प्रतिष्ठान पुगेको थियो ।
प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रज्ञा प्रतिष्ठानको कुलपति गङ्गाप्रसाद उप्रेती, शताब्दी पुरुष सत्यमोहन जोशी, प्रज्ञा प्रतिष्ठानको पूर्व कुलपति वैरागी काइला, मातृभाषा साहित्य विभागका प्राज्ञ लक्ष्मी माली लगायतको उपस्थिति रहेको थियो ।
प्रज्ञा प्रतिष्ठानको पूर्व कुलपति वैरागी काइलाले हाम्रो सांस्कृतिक विविधताले भरिपूर्ण देश भएको उल्लेख गर्दै भने, ‘भाषिक सहिष्णुता र सहनशीलता राज्यको गहना हो । र म आफुलाई विश्वसामु नेपाली हुँ भनेर चिनाउदा गर्व लाग्छ ।’
वाङ्मय शताब्दी पुरुष जोशीले नेपालको पूर्व मेचीदेखि पश्चिमको महाकाली सम्म जनजातीले नै धेरै मातृभाषा बोल्ने गरेको बताए ।
उनले नेपालको सांस्कृतिक विविधताले पनि विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खलेको उल्लेख गर्दै भने, ‘हाम्रो सांस्कृतिक विविधताको अमेरिका जस्ता ठुला ठुला देशले पनि तारिफ गर्छन् । यो आफैमा गौरव गर्नुपर्ने कुरा हो ।’
‘नेपाल ठुलो बगैचामा रंगी चंगी फूल फुले जस्तै हो ।’ जोशीले थपे, ‘यसको जगेर्ना गर्नु हाम्रो महत्वपूर्ण कर्तब्य हो । यसको संरक्षण, सम्बर्धन साथै पुस्तानतरण गर्नु हामी सँधै अगाडि बढ्नु पर्छ ।’
कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति पुनले अन्तराष्ट्रिय मातृभाषा दिवसको शुभकामना व्याक्त गर्दै भने, ‘नेपाल आफैमा प्रकृतिले नै भरिपूर्ण सुन्दर देश हो । र जुनै पनि राष्ट्रको भाषानै सर्व शक्तिशाली पहिचान हो ।’
उनले नेपाल बहु जाती, बहु भाषी, बहु धर्म साथै भौगोलिक विविधताले भरिपूर्ण मुलुक भएको टिप्पणी गर्दै भने, ‘नेपालमा १ सय २५ जाती र १ सय २३ भाषा बोल्ने गरेको पाइन्छ । जुन विष्वसामु सांस्कृतिक विविधताले चिनिएको छ ।’
पछिल्लो समय बौदिकता र गुनस्तरको हिसाबले नेपाली भाषा भन्दा बाह्यभाषाको बोल्ने प्रचलन बढ्दै गरेको औलाउदै पुनले भने, ‘बाहिर देशको भाषा नपढ्नु भन्न खोजेको हैन । तर, पछिल्लो समय आफ्नै देशमा पनि अन्य देशको भाषा देखि विभिन्न कार्यक्रम गरेको देख्दा र सुन्दा पक्कै पनि मलाई राम्रो लागेको छैन ।’
नेपालीको मौलिक भाषा नै नरहे हाम्रौ गौरवमय इतिहास नै मेटिन सक्ने कुरा समेत पनुले सुझाव दिएका थिए ।
कार्यक्रममा ४२ जनाले मातृभाषामा कविता वाचन समेत गरेका थिए ।