ताप्लेजुङ । आज बिहान करिब ११:३० बजे पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना यात्रु चढेको हेलिकप्टर पाथीभरा जाँदै गर्दा दुर्घटनामा परि सबै जनाको मृत्यु भएको छ ।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनका लागि गएका थिए । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए।
मन्त्री रवीन्द्र अधिकारीसँगै चर्चित व्यवसायी आङ छिरिङ शेर्पा पनि हेलिकप्टरमा सवार थिए । साथै नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया सवार थिए ।
दुर्घटनापछि प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । बैठकका लागि मन्त्रीहरु बालुवाटार जम्मा भइरहेका छन्।