१४ आश्विन २०८०, आइतबार | Mon Oct 2 2023

भोजपुरको चखेवा हुदै खोटाङको हलेसी सम्म मुन्धुम पदमार्गको ‘फाम ट्रिप’ शुरु


२१ फाल्गुन २०७५, मंगलबार  

0
Shares

भोजपुर । पूर्वी नेपालको भोजपुर, खोटाङ, सोलुखुम्बु र सङ्खुवासभाका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्प्लोर गरिएको मुन्धुम पदमार्गको अध्ययन–अवलोकन (फाम ट्रिप) शुरु भएको छ ।

गत वर्ष एक्स्प्लोर गरिएको उक्त पदमार्गमा टेम्के मैयुङ गाउँपालिकाको आयोजना तथा व्यवस्थापन र मयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन विकास केन्द्र (एमटीएसएस)को संयोजनमा आज बिहानदेखि खोटाङबाट अध्ययन–अवलोकनको यात्रा शुरु गरिएको हो ।

नेपाल सरकारले समेत नेपालको उत्कृष्ट १०० गन्तव्यमा छनोट गरेको पदमार्गको सात दिने ट्रिपमा नेपाल टुरिजम बोर्ड, ट्रेकिङ एजेन्सी एशोसिएशन नेपाल (टान), पर्यटनविद्, वातावरणविद्, पत्रकारलगायतको ११ जनाको टोली रहेको सात दिन सम्मको यात्रा रहेको संयोजक रमेश राईले जानकारी दिए ।

टोलीले पहिलो दिन हलेसी क्षेत्र तथा किराँतीको उद्गम थलोको रुपमा लिने तुवाचुङ–जायजुम हुँदै दिक्तेल बजारसम्मको यात्रा तथा अध्ययन गर्ने राईले बताएका हुन् ।

दोस्रो दिन खोटाङ र भोजपुरको सिमानामा अवस्थित रमणीय चखेवा भञ्ज्याङ तथा टेम्के डाँडा चढ्ने र आठवटा गाउँपालिका तथा नगरपालिकाका प्रमुख–उपप्रमुख लगायतका जनप्रतिनिधिसँग अन्तक्र्रिया गर्ने जनाइएको छ ।

दुई जिल्लाको सीमा क्षेत्रमा अवस्थित रमणीय डाँडा दल्सिङे र मेरुङ जङ्गल आसपास क्याम्पिङ गर्ने र सोही दिन मेरुङ डाँडा चढेर धोद्रे, देउराली  साथै टि हाउसको अध्ययन गर्ने तालिका निर्माण गरिएको छ ।

अन्य चार दिनभित्र मैयुम डाँडा क्षेत्रको हाँसपोखरी घुम्दै मयुम चढ्ने, भोजपुरबजार, टक्सारबजार, तिम्माको सावा गाउँ आदिको भ्रमण गर्ने छ ।

धनकुटाको हिले, इटहरी हुँदै विराटनगर पुगेर प्रदेश सरकारसँग अन्तक्र्रिया गरी काठमाडौँ फर्किएपछि फाम ट्रिप समापन हुने संस्थाको तालिकामा उल्लेख छ । मुन्धुम पदमार्गमा किराँती जीवनशैलीको अध्ययन तथा अवलोकन गर्न सकिन्छ ।

पदमार्गमा पर्ने अधिकांश बस्ती किराँत भएको तथा किराँतीको मौलिक ग्रन्थ ‘मुन्धुम’मा किराँती जीवनशैली तथा संस्कार–संस्कृतिको बारेमा वर्णन हुने भएकाले पदमार्गको नाम ‘मुन्धुम पदमार्ग’ राखिएको अध्यक्ष राईले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १ : ४३ बजे