२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

पर्यटन क्षेत्रमा क्षति


२२ फाल्गुन २०७५, बुधबार  

0
Shares

सम्पादकीय

फागुन १५ गते हेलिकप्टर दुर्घटना हुँदा नेपाली पर्यटनमा अपुरणीय क्षति पुग्यो । पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पर्यटन क्षेत्रका अगुवा आङछिरिङ शेर्पाको निधन यही घटनामा भयो ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल बन्ने प्रतिबद्धता जनाउन पुगेका मन्त्री अधिकारी र शेर्पासहित सात जनाको टोली ताप्लुजुङको फुङलिङस्थित सिस्नेमा दुर्घटनामा परे । नेपाली पर्यटनलाई अझ विशेष बनाउने भिजन २०२० मा लागेका थिए मन्त्री अधिकारी । यता शेर्पा आफै पर्यटन क्षेत्रका अगुवा थिए ।

हिमालयन एअरलायन्स, यति एअरलाइन्स, तारा एअरलायन्सदेखि विभिन्न होटल र ट्रेकिङ एजेन्सीमा लगानी थियो शेर्पाको । यो पर्यटकलाई सेवा दिने एजेन्सीहरु हुन् । पर्यटक भित्र्याउन ‘हस्पिटालिटी’को मुख्य भूमिका हुन्छ । यसमा नै शेर्पाको मुख्य ध्येय थियो ।

यसरी विभिन्न क्षेत्रबाट पर्यटनको विकास गर्ने योजनामा लागिपरेका थिए मन्त्री अधिकारी । नेपाललाई सुरक्षित गन्तव्य बनाउने उनको ध्येय थियो । नेपाली आकाश असुरक्षित रहेको पहिलेदेखिकै समस्या हो । यही विषय मन्त्री अधिकारीको लागि तगारोको विषय थियो । त्यसैले उनी हरदम नेपाली आकाश सुरक्षित बनाउन चिन्तित रहन्थे ।

निजगढ विमानस्थल, लुम्बिनी विमानस्थल र पोखरा विमानस्थल बनाउने योजना उस्तै थियो । तर, असुरक्षित आकाशमै पर्यटन क्षेत्रका बलिया खम्बाहरुको निधन भयो । यसले नेपाली पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । क्षतिसँगै कतिपय योजनाहरु पछि धकेलिने सम्भावना बढेको छ ।

यस्तो हुन नदिन नेपाल सरकार, पर्यटन क्षेत्रका व्यक्तित्वहरु र पर्यटन मन्त्रालय लाग्नुपर्छ । अधिकारी सम्मानका लागि भिजिट नेपाल २०२० लाई सफल बनाउन सबैतिरबाट साथ सहयोग गरिनुपर्छ । नेपालको मुख्य आर्थिक स्रोत पर्यटन नै हो । यसलाई सबै मिलेर राम्रो बनाउन सकेमा विकासलाई पनि साथ मिल्नेछ नै ।

पर्यटकलाई उत्साह प्रदान गराउने माध्यम भनेको ‘हस्पिटालिटी’ नै हो । यसमा पनि सरकारले कुनै पनि कमी कमजोरी हुन दिनु हुँदैन । यसपटकको दुर्घटनामा प्रविधि र विज्ञानसँग तालमेल नहुनु पनि कमजोरी देखिएको छ । मौसम पूर्वानुमानले दिएको आँकडालाई ध्यान नदिनु हवाई सम्बद्ध अधिकारीहरुको गल्ती देखिन आएको छ । हिउँ र हुरी पर्ने अवस्था देखिदाँ देखिदै पनि जबरजस्ती उडान गर्नु गल्ती थियो नै । यस्ता गल्तीहरु नदोहोरिउन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ९ : १२ बजे