ङिमा पाख्रिन/न्युजर्सी
एनआरएनए अमेरिकाको आगामी कार्यसमिति २०१९–२१ को निर्वाचनमा मतदान गर्न पाउने मतदाता संख्या ९,५५२ (आजीवन सदस्य ५९१ जनासहित) रहेको छ । यसको लागि संस्थाको विधानको बुँदा नं २५ मा उल्लेख भएअनुसार साधारण सदस्यताको लागि तोकिएको शुल्क तिरी आवेदन दिने अन्तिम मिति फेब्रुअरी १५ को राति ११ः ५९ बजे तोकिएको थियो ।
उक्त मितिका पछिल्ला केही दिन संस्थाको वेभसाइटको सर्भरमा समस्या देखिएकोले धेरै जना सदस्यता बन्नबाट वञ्चित भएका छन् । यसले गर्दा संस्थाको वर्तमान कार्यसमितिको नियतबारे यत्रतत्र निकै नै आलोचनात्मक रह्यो । संस्थामा केही निहित व्यक्तिहरूको हालीमुहाली कायम रहेकोले यस्तो प्राविधिक समस्या बनाइएको भनेर सामाजिक सञ्जालमा निकै चर्चा परिचर्चा पनि भयो । तर संस्थाका जिम्मेवार व्यक्तिहरूले कुनै प्रतिक्रिया दिएनन् । के साँच्चै सर्भरमा प्राविधिक समस्या आएको थियो वा कृत्रिम समस्या रहेको थियो ? गहिरिएर सोच्नुपर्ने देखिन्छ । अझ भनौ एक उच्च स्तरीय छानबिन समिति बनाएर, सर्भरमा खास के र कसरी समस्या भएको थियो, सत्य तथ्य सार्वजनिक गर्नु पर्ने सरोकारवालाहरूको मागले सामाजिक सञ्जालहरू निकै भरिएको थियो ।
अधिकांश कार्यसमिति सदस्यहरू पनि यस्तो समस्या कसरी आयो भन्नेमा अनभिज्ञ देखिन्छन् । कार्यसमितिभित्र पनि यसबारे जानकारी मागिएको बुझिएको छ । फेब्रुअरी १५ तारिक साँझ कार्यसमितिको बैठकमा सर्भर समस्याको तत्काल प्राविधिक छानबिन गर्न प्रस्ताव राखिएको तर त्यसको कुनै ठोस सम्बोधन नभएको कार्यसमिति सदस्य कृष्ण लामिछानेले बताए ।
सर्भर डाउन भनिए पनि त्यही सर्भरबाट आंशिक कामहरू भने सम्पन्न हुन सकेको धेरैले बताएका छन् । मुलतः सदस्यता रजिस्ट्रेसनमा समस्या भएको भए पनि शुल्क तिर्ने कामहरू भने लिएको भुक्तभोगीहरुले बताए । वेभसाईट खुल्ने, फारम भर्न सकिने, आंशिक काम पनि गर्न मिल्ने भएकोले उक्त सर्भर समस्याप्रति धेरैको आशंका सामाजिक सञ्जालहरू मार्फत देखिए । यसबारे महासचिव बाबुराम लामासँग बुझ्दा शुरुका दिन सर्भर डाउन भएको र तत्कालै उक्त समस्याको समाधान गरिएको बताए । वरिष्ठ उपाध्यक्ष सुनिल शाहले सर्भरमा पुरै समस्या नभई स्लो भएको बताए । शाहका अनुसार सेवा प्रदायकसँग पहिले देखिकै सम्झौतानुसार काम गरेको हुँदा अन्तिम अवस्थामा सदस्यता बन्ने चाप बढ्न गई सर्भर स्लो भएको थियो । शाह वेभसाईट निर्माण समितिका संयोजक पनि हुन् ।
सेवा प्रदायकले त्यस्तो समस्या नहुने बताएको, तर पछि समस्या देखिएको अध्यक्ष डा. केशब पौडेलको भनाई रहेको छ । यसबारे छानबिन हुन्छ वा हुँदैन भनी प्रश्न गर्दा आवश्यक ठानेमा प्राविधिक समितिले यसबारे छानबिन गर्न सक्ने अध्यक्ष पौडेलले बताए । यसबारेमा प्राविधिक समितिका संयोजक स्वराज खातीसँग बुझ्दा गत फेब्रुअरी १५ साँझकै कार्यसमिति बैठकमा केही प्राविधिज्ञाहरु समेत सम्मिलित छानबिन समिति बनाएर यसको छानबिन हुनु पर्ने जिकिर गरेको उनले भने । उनको संयोजकत्वमा रहेको प्राविधिक समितिसँग सीमित मात्र काम गर्न मिल्ने परिधि भएकोले छानबिनमा सेवा प्रदायकसँग सही सहकार्य गर्न सकिने कुरामा उनले आशंका व्यक्त गरे । पछिल्लो समयमा सेवा प्रदायकसँग कम्युनिकेसन ग्याप हुन पुगेको समेत संयोजक खातीले बताए । सेवा प्रदायकसँग यस सन्दर्भमा कुरा खोज्दा सम्पर्क हुन सकेन ।