६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

जुगल हिमालको प्रथम आरोहण चैत १५ गते, माया गुरुङको नेतृत्वमा तेन्जिङ नोर्गेका नाति पनि जाँदै


२३ फाल्गुन २०७५, बिहिबार  

0
Shares

काठमाडौं । राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमालमा पहिलोपटक आरोहण हुने पक्का भएको छ ।  सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको जुगल हिमालमा जिल्लाकै सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टोली चैत १५ गते बेसक्याम्प पुग्दैछन् ।

बैशाख ७ गतेसम्ममा आरोहण पुरा गरिने आयोजकले जनायो ।

बिहीवार राजधानीको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सिन्धु पर्यटन परिषद् एवं जुगल गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको पत्रकार सम्मेलनमा जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठले धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक दृष्टिकोणले पर्यटन क्षेत्रका लागि प्रबल सम्भावना रहेको बताए ।

‘जुगल गाउँपालिकामा रहेको जुगल हिमश्रृंखलाको हिम चुचुराहरु आरोहण खुला बिकास तथा प्रवर्द्धन गराइ नेपालको पर्यटन उद्योगमा एक आकर्षक पर्यटकीय गन्तव्यको पहिचान एवं स्थापित गर्ने उद्देश्य रहेको छ,’ श्रेष्ठले भने, ‘यो पर्यटन विकासको एउटा अध्याय हो ।’

उनले राजधानीदेखि सबैभन्दा नजिक पर्ने हिमाल नै जुगल भएको उल्लेख गर्दै भने, ‘जुगलको पनि थुप्रै चुचुराहरु मध्ये समुन्द्र सतहबाट ६१५१ मिटरको उचाईमा रहेको ‘ग्याल्चेन पिक’को प्रथम आरोहण गर्न लागेका छौं ।’

उक्त स्थानमा बौद्ध धर्मका गुरु पद्मसम्भवले ध्यान गरेको तथा भविष्यमा हुन सक्ने विभिन्न परिघटनाका भविष्यवाणीका लिखतहरू यस क्षेत्रमा सुरक्षित राखिएको किंवदन्ती रहेको छ । अध्यक्ष श्रेष्ठले नेपेमाशाल नजिकै रहेको ब्रह्मायणी नदी, हरियाली जङ्गल, जङ्गलमार्गमा रहेको हजार जना अट्ने गुफा र त्यसैको आडमा रहेको जुगल हिमशृङ्खलाको सुन्दरतम दृश्यले जो कोहीलाई मोहित बनाउने बताए ।

उनले गाउँपालिकाले पर्यटन विकासलाई महत्व दिएर अगाडि बढेको बताउँदै छोटो समयमा र थोरै खर्चमा पदयात्रा जान चाहनेका लागि जुगल उत्कृष्ट गन्तव्य हुनसक्ने जानकारी दिए । श्रेष्ठले भ्रमण वर्ष २०२० का लागि सूचीकृत गन्तव्यका रूपमा सो क्षेत्रलाई राख्न पनि सम्बद्ध निकायसमक्ष आग्रह गरे ।

कार्यक्रममा प्रदेश नं ३ का पर्यटन मन्त्री अरुण नेपालले पर्यटन नै देशको आर्थीक विकासको मुख्य पाटो रहेको उल्लेख गर्दै भने, ‘राजधानीदेखि सबैभन्दा चाँडो पुगिने हिमाल नै जुगल हुनेछ । जुगलको प्रथम पटक आरोहन गर्न म पनि तयार हुँदैछु ।’

उनले प्रदेश नं ३ को तर्फबाट पनि यो कार्यको लागि ४० लाख बजेट अनुदानको रुपमा प्रदान गर्ने भएको जानकारी दिए ।

कार्यक्रममा आरोहणको नेतृत्व गरिरहेकी गुरुङले जुगल हिमाल अहिलेसम्म कसैले पनि आरोहण नगरेको जानकारी दिइन् । सगरमाथा आरोही गुरुङले जुगल हिमशृङ्खलामा अहिलेसम्म मानव पाइला नपुगेको ‘भर्जिन’ क्षेत्र भएकाले हिमाल आरोहणमा मात्र केन्द्रित नभएर सम्भाव्यता अध्ययन, ‘रुट’ पहिचान तथा निर्धारणलगायतका कार्यमा पनि केन्द्रित हुने जानकारी दिइन् । उनका अनुसार सो टोलीमा पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गेका नाति, पर्वतारोहण विज्ञसहित सातजना समावेश हुनेछन् ।

सगरमाथा आरोही गुरुङले जुगलले अब सिन्धुपाल्चोकको रुप नै परिवर्तन गर्ने जिकिर गर्दै भनिन्, ‘गौरीशंकरको देब्रे पट्टी र लाङटाङ हिमालको दाहिने पट्टी बिचमा रहेको जुगलले पनि अब पर्यटकलाई सजिलै आकर्षण गर्नेछ ।’

‘यो सिन्धुपाल्चोक बाट जानको लागि पहिलो रेकर्ड हुनेछ,’ उनले थपिन्, ‘जुगलको २६ वटा पिकमध्ये ग्याल्चोङ पीक हाम्रो टार्गेट हो । जुन ६ हजार १ सय ५१ मिटर अग्लो उचाइमा छ ।’

प्रदेश नं ३ का प्रदेश सांसद निमा लामाले देशलाई थप समृद्धितर्फ अगाडि बढाउन सिन्धुपाल्चोकको जुगल हिमालले पनि महत्वपूर्ण भूमिका निभाउने बताए ।

उनले राजधानीदेखि सबै भन्दा कम दुरीमा पर्ने हिमाल भएको उल्लेख गर्दै भने, ‘जुगलले अब प्रदेश नं ३ को आर्थीक विकासमा टेवा पुर्याउँछ ।’

नेकपाका सांसद अग्नि सापकोटा, नेकपाका सांसद सापकोटाले सिन्धुपाल्चोक सबैथोकले भरिपूर्ण रहेको उल्लेख गर्दै भने, ‘जुगल हिमालले सिन्धुपाल्चोकको कायापलट गराउने छ ।’

उनले सिन्धुपाल्चोकलाई मात्र समृद्ध नभई जुगलले देशले लिएको लक्ष्य ट्वान्टी – ट्वान्टीको पनि एक हिस्सा बन्ने बताए । ‘समृद्ध नेपाल निमार्ण गर्न पर्यटनले नै भूमिका खलेको हुन्छ । र यसको एक हिस्सा जुगल पनि बन्ने पक्का छ,’ सापकोटाले भने ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  ९ : ०८ बजे