९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मणिचुडमा ६५ फिट अग्लो बुद्धको मूर्ति शिलान्यस, पाँच वर्षमा बनिसक्ने


४ बैशाख २०७६, बुधबार  

0
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ऐतिहासिक संरचना, पर्यटकीय गन्तव्यहरुको विकास, स्थानीय उत्पादनको बजारीकरण, कला संस्कृतिको प्रचारप्रसारको निम्ति महोत्सवले ठुलो भूमिका खेल्ने बताए । सबै मिलेमा यहाँको विकास गर्न सहज हुने बताएका छन् । आइतबार काठमाडौंको शंखरापुर–८ स्थित चौथो बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव २०७६ मा मन्त्री पण्डितले बिशेष गरी नगरपालिकाले ठुलो भूमिका खेल्न जरुरी रहेको औल्याएका छन् । यो पर्यटनको लागि प्रवल सम्भावना बोकेको ठाउँ हो । उनले भने,– मेरो मन्त्रालयमार्फत पनि सहयोग गर्नेछु ।

संघीय सांसद रामेश्वर फुयाँलले यो मणिचुड उपत्यकाको नजिक रहेर पनि पर्यटनको लागि ठुलो सम्भावना रहेको बताए । यहाँ विविध खालका जडीबुटि, लालीगुराँस र हिमालको दृश्य लगायतले पर्यटनको मन लोभाउने बताए । उनले भने, ‘प्रदेश नं. ३ मा लिखित रुपमा प्रस्ताव ल्याएमा बजेट विनियोजन गर्न तप्पर छु ।’ विमस्टेक सम्मेलनमा समेत मणिचुडले अवसर पाएको बताए ।

यसैगरी नगरप्रमुख सुवर्ण श्रेष्ठले यो महोत्सव पिकनिकको स्वरुपबाट सुरुवात भएको उद्घोष गरे । शंखरापुरको धार्मिक पर्यटकको लागि यो बज्रयोगिनी मणिचुड उत्तम थलो रहेको बताए । उनले भने, पर्यटन महोत्सवको कारणले गर्दा अहिले सडक विस्तारको अवस्था सुधारिएको छ । अझ यसको लागि नगरबाट ५० लाख विनियोजित गरेको उनले खुलाशा गरे । यस नगरको पर्या पर्यटन हिसाबले पनि मुख्य थलो रहेकोले यसको प्रबद्र्धनमा नगरपालिकाको प्रमुख दायित्व भएको उल्लेख गरे । यसको व्यवस्थापन गर्दै ३६५ दिन नै पर्यटकका लागि खुल्ला राख्ने रणनिति अवलम्बन गर्ने पनि उनले बताए ।

उपमेयर शुक्रलक्ष्मी श्रेष्ठले कृषि, पर्यटनमा अगाडि बढाउन यो महोत्सवले ठुलो भुमिका खेल्ने बताइन् । पर्यटन नगरी बनाउन सबै वडाले यस्तै कार्यक्रमहरु आयोजना गरिनुपर्ने बताइन् ।

जात्रा नागी डाँडा घुमारचोकमा ६५ फिट अग्लो बुद्धको मूर्ति प्रतिस्थापनाको लागि मन्त्री पण्डितले शिलान्यस गरिएको थियो । मूर्ति ५ बर्षमा बनिसक्ने आयोजक संस्थाका सचिव रक्षेबहादुर ग्लानले बताए । महोत्सवमा स्थानीय लामा, झाँक्री, ताम्बा र खैचडीको प्रस्तुतिले महोत्सवको शोभा बढाएका थिए ।

महोत्सवको पूर्वसन्ध्यामा नगरस्तरीय बक्तृत्वकला, मैत्रीपूर्ण फुटबल, म्याराथुन र लोकदोहोरी प्रतियोगिता भएका थिए ।

बक्तृत्वकलामा बनदेवी आधारभूत विद्यालयका छात्रा भिममाया मोक्तान विजेता बनिन् भने एभरग्रिन मा.विका छात्रा प्रविना कट्टेल द्धितिय, उग्रतारा मा.विका छात्रा रेणु थिङ तृतिय र शारदा मा.वि.का छात्र दिनेश रिमालले सन्त्वाना प्राप्त गरेका छन् । उनीहरुलाई नगद, प्रमाणपत्र दिए भने एभरग्रिन माविले विजेताहरुलाई नगद पुरस्कारको व्यवस्था गरेका थिए ।

म्याराथुनमा पुरुषतर्फ विजेता कान्छाराम घिसिङ, द्धितिय रोहित खत्री र तेस्रो सुर्य ग्लान भएका थिए । यसैगरी महिलामा विजेता कमला मोक्तान, दोस्रो सिर्जना स्याङ्बो र तेस्रो सुनिता स्याङबो भएकी छन् । उनीहरुले क्रमशः १० हजार, ७ हजार र ४ हजारसहित प्रमाणपत्र प्रदान गरेका छन् । यस प्रतियोगिताका लागि नेचुरल बचत तथा ऋण सहकारी संस्थाले नगद पुरस्कारको व्यवस्था गरेका थिए ।

फुटबलमा बज्रमणि बुद्ध युवा क्लव (बिबिवाइसी) शंखरापुर–८ बज्रयोगिनी घुमारचोक बिजेता बने भने सोही वडाका बज्रयोगिनी युवा क्लब, भुल्बु दितिय र लप्सेली युवा क्लब तेस्रो बने । उनीहरुलाई क्रमश १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए । लासेली युवा क्लबले भने बुद्धको मुर्ति स्थापनाका लागि पुरस्कृत नगद दान गरे । यस प्रतियोगिताका लागि पुरस्कारको प्रायोजन जन्मभूमि रियल स्टेट प्रालिले गरेका थिए ।

यसैगरी लोकदोहोरीमा शंखरापुर–८, बज्रयोगिनी घुमारचोकका बिरबहादुर ग्लान तामाङ (च्याङ्बा), धर्मरत्न ग्लान तामाङ र डम्फू ग्लान तामाङका समूह विजेता बने । वडा नं. २ पटापका पार्वती वाइबा तामाङ, सानुमाया तामाङ र प्रशान्ति तामाङका समूहले दोस्रो स्थानमा चित्त बुझाए भने वडा नं. १ नाङ्लेभारेका सानुकान्छा तामाङ, प्रेमबहादुर तामाङ र हेमनारायण दंगालको समूह तेस्रो भएका थिए । उनीहरुलाई नगद २० हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए । यस प्रतियोगिताका लागि बज्रयोगिनी निर्माण एण्ड सप्लायर्स प्रालिले प्रथम, न्यु शंखरापुर एण्ड सप्लायर्स प्रालिले दोस्रो र घुमारचोक होमस्टेले तेस्रो नगर पुरस्कारको प्रायोजन गरेका थिए ।
महोत्सवमा तामाङ खाना, पहिरनलगायतका स्टल थिए भने विश्व दोङ, बुद्धि तामाङ, योगेश लामा, भिमसेन खतिवडा, सुवास केसी, बासु सिंखडा, मिना बज्राचार्य, टिका सानु, कल्पना दाहाल, रेश्मा बम्जन, सञ्जोग वाइबा, पदमबहादुर विक लगायतले मनोरञ्जन दिलाएका थिए । यसैगरी स्थानीय कलाकार बिरबहादुर ग्लान (च्याङ्बा), सम्बर ग्लान, सुविन्द्र ग्लान, नमु ग्लान, ५ बर्षीय सिम्रन ग्लान लगायतले महोत्सवमा दर्शकलाई नचाएका थिए ।

मणिचुडबाट काठमाडौं उपत्यका शहरको मनोरम दृश्य अनि विभिन्न हिमालका मनमोहक दृश्यावलोकन प्रत्यक्ष गर्न सकिन्छ ।

महोत्सवमा संघीय सांसद सरिता न्यौपाने, ३ नं. प्रदेश सांसद मणिराम फुयाँल, नगरका प्रवक्ता एवं वडाध्यक्ष हितमान ग्लान तामाङ, नगर प्रशासकीय अधिकृत प्रमोद सिंखडा, नेकपाका नेता कृष्णराज सुवेदी, कांग्रेसका नगरसभापति राजुभाई मानन्धर, सल्लाहकार मधु केसी (निरज), लक्ष्मीप्रसाद श्रेष्ठ(एलपी), टानका पूर्वमहासचिव कर्ण लामा, पर्यटन व्यवसायी कर्णबहादुर तामाङलगायतले नयाँ वर्षको शुभकामना दिएका थिए ।

शान्तिको पर्याय बज्रयोगिनी मन्दिरको विशेषतालाई उजागर गरी आन्तरिक तथा बाह्य पर्यटन गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले महोत्सव गरिएको बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव मुल आयोजक समितिका संयोजक विरबहादुर ग्लानले बताए । बज्रयोगिनी विश्व सम्पदा सूचिमा सूचिकृत हुन प्रस्तावित, धार्मिक सहिष्णुताको प्रतिक, सदभाव र सह–अस्तित्व बोकेको मन्दिर हो ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ११ : १३ बजे