१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

यो वर्ष: न विस्मात न हर्ष


५ बैशाख २०७६, बिहिबार  

0
Shares

शान्ति बस्नेत-

नयाँ वर्ष घरघरमा पात्रो फेरिन्छ । तर हर मानिसहरूको जीवन फेरिँदैन । पाइलाहरू उस्तै रहेका हुन्छन् । पात्रो फेरिन्छ तर काम गर्ने शैली र पात्रको व्यवहारमा केही पनि फरक पाउन सकेका छैनन् आम सर्वसाधरणहरुले । यहाँ हुनेलाई जहाँतही नहुनेलाई काहीँ न काहीँ जस्तो प्रवृति हामीहरूका दैनिक जीवनमा आइरहेको महसुस गरेका छौँ ।

जीवनमा नयाँ वर्षसँगै नयाँ योजनाको कार्य गर्ने युवाहरूमा मनस्थितिमा जाँगर आउँछ । तर के गर्नु समाज परिवर्तन गर्ने पात्रहरू पात्रो पल्टाए र विकास गर्ने बहानामा जनताहरूको भोटलाई दुरुपयोग गरी नै रहेका छन् । जुन विकास गर्नलाई पात्रोले हैन पात्रले यहाँ विकृति ल्याई रहेका छन् । यो वर्ष सुरुवातका दिनहरूमा जसरी खुशीका साथ देशले राम्रो परिवर्तनका आशाका दियो बालेको थियो तर आजका दिनसम्ममा अनेकौँ बहानाहरूमा देशलाई घाटातर्फ अगाडि बढाइ रहेका हामी सबै जना साक्षी रहेका छौँ ।

नेपाली जनताहरूले धेरै नै पात्रो फेरिसके तर परिवर्तनका नाममा समाजलाई बोझिला रूपमा अगाडि बढाई रहेका छन् । हरेक नेपालीहरूमा निराशाका बोलीहरू बल्झिरहेका छन् निराशाको दियो झन् दन्किँदै गएको छ । नेताको चरित्रले गर्दा सर्वसाधारण जनताहरूको दैनिक जीवनमा सकस परिनै रहेको छ । आशाले सगरमाथाको चुचुरो चुमी रहेको छ । तर के गर्नु काम गर्ने मनसाय नभएको मानवहरूले यो देशलाई विखण्डन गरी नै रहेका छन् ।

केही गर्लान् कि जस्तो लाग्ने किसिमका नेताहरूले पनि यो देशमा सबै किसिमका समस्याहरू बल्झाएर परिवर्तनलाई अल्झाएर समाजलाई परिवर्तनको नारामा सीमित बनाएका छन् । युवाहरूलाई रोजगार दिने भन्ने नाममा विभिन्न सम्झौता गरे तर खै त रोजगार दैनिक हजारौँको लर्को लागेर विभिन्न देशहरूमा रोजगारीको सिलसिलामा पलायन भई रहेका छन्, खै त शान्ति सुरक्षा एउटी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारासम्म पत्ता लगाउन किन सकेन, अनि ३३ किलो सुन कहाँ पुग्यो अनुसन्धान त्यस्तै गरी वाइडबडी प्रकरण खै कहाँ पुग्यो किन यस्ता यो देशका घातक घटनाहरूलाई चाहिँ निन्दा नै नगरी चुप लागेर बस्छ सरकार ?

यस्ता घटनाले कति समाजमा असर परेको छ केही थाहा छ ? सानालाई अन्याय हुँदा किन मौन बस्छ ? कहाँ छ सरकारको कार्य कुशलता के हो ? किन समाजले गर्दा पद र प्रतिष्ठामा आसीन गर्न पाउनु चानचुने कुरा हैन । तर पद हुँदा वा महलमा बस्दा झुपडीका सुख दुःख बिर्सने यो देशका रक्षक हैनन् उनीहरू त यो देशका भक्षक हुन् । समाज बन्दै छ भनेर झुटको खेती गर्नेको आशामा हैन युवा हो कामलाई सम्मान र माया गरेर हामी आफैले यो देशको मुहार फेर्नु पर्छ ।

आऊ हामी सबैले आफ्नो–आफ्नो ठाउँबाट जसरी सकिन्छ त्यसै गरी हातेमालो गरी यो देशका आम नागरिकलाई हर्ष र उमंगका साथ बाँच्ने आधार बनाऊ । वर्तमानलाई सू–सङ्गठित भई व्यवस्थित बनाउन सकियो भने भविष्यमा हामी आफ्नै देशमा काम गर्ने अवसर प्राप्त गर्न सक्छौँ । त्यसैले २०७६ साललाई विशेष वर्ष र हर्षका दिनहरू भिœयाउन सबै जना एकजुट हौँ । २०७६ सालको हार्दिक मंगलमय शुभकामना ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  ७ : ५३ बजे