यादव बास्तोला-
पछिल्लो १ दसकमा अमेरिकामा बसोबास गर्ने नेपालीको संख्या उलेख्य मात्रमा बढेको छ । सुनौलो भविष्य खोज्दै विभिन्न माध्यमद्वारा अमेरिकामा प्रवेश गरी यही स्थायी बसोबास गर्ने नेपालीहरूको संख्या ह्वात्तै बढे पनि सरकारी तथ्याङ्कमा भने त्यस्तो देखिदैन ।
आप्रवासीको देश भनेरसमेत चिनिने अमेरिकाको न्युयोर्क क्षेत्रमा मात्र झन्डै एक लाखको हाराहारीमा नेपाली रहेको भनी दाबी गरिन्छ । यस्तै अमेरिकाभरी तीन लाखभन्दा बढी नेपालीको बसोबास रहेको अनौंपचारिक तथ्याङ्क छ । तर अमेरिकी सरकारी जनगणना अभिलेखले न्युयोर्कमा करिब १२ हजारमात्र नेपाली रहेको देखाउँछ । नेपाली संघ संस्थाले गर्ने दाबी र अमेरिकी सरकारी तथ्याङ्कमा एक रुपता ल्याउनका लागि अब हाम्रा लागि मौका आएको छ । अब हामीले हाम्रो सम्मान जनक उपस्थिति खोज्न जरुरी छ र त्यसका लागि अर्को वर्ष हुने जनगणनालाई सदुपयोग गर्नु पर्ने हुन्छ ।
जनगणनामा भाग लिए नेपाली समुदायलाइ के फाइदा हुन्छ ?
नेपाली समुदायको हरेक निकायमा उचित प्रतिनिधित्व र सहअस्तित्व कायम राख्न सन् २०२० मा हुने राष्ट्रिय जनगणनाले प्रमुख भूमिका खेल्न सक्छ । हामीले अमेरिकामा हाम्रो उपस्थितिलाई सम्मान जनक बनाउन हाम्रो संख्या देखाउन जरुरी छ । जनगणना राज्य र सिटीको निर्वाचन क्षेत्र व्यवस्थित गर्ने एउटा प्रमुख आधार हो । समुदायको संख्याको आधार नै राज्य र सिटीको आर्थिक , सामाजिक र राजनीतिक क्षेत्रमा अवसर प्राप्त गर्ने प्रमुख आधार हो । जनंसख्या सर्वेक्षण एक संवैधानिक जनादेश हो र सरकारमा निष्पक्ष प्रतिनिधित्व सुनिश्चित गर्ने एक माध्यम हो । एकत्रित जानकारी सरकारी विभागहरूलाई सङ्घीय कोष कसरी र कहाँ खर्च गर्ने निर्णयमा मद्दत गर्नको लागि पनि प्रयोग गरिन्छ ।
जनगणनाले देश, राज्य, स्थानीय क्षेत्रहरू को स्पष्ट तस्बिर प्रदान गर्दछ, र विस्तृत स्तरमा हामी एक राष्ट्रको रूपमा छौ भनेर परिभाषित गर्दछ । जनसंख्या सम्बन्धी जानकारीले समाजको सबै भागका समूहलाई जनगणना जानकारी प्रयोग गरी उनीहरूको ध्यान र स्रोतहरू कहाँ केन्द्रित गर्ने कुराको निर्णय गर्न मद्दत गर्दछ । जनगणनाले यी समूहहरूलाई केही सेवाहरू, व्यवसायहरू, नागरिक अधिकारको पहुँच, सामुदायिक संलग्नता, आदिको आवश्यकता हुने क्षेत्रलाई पहिचान गर्न मद्दत गर्दछ ।
उदाहरणका लागि नेपाली भाषीको बाहुल्यता भएको स्थानमा मतदान र चुनाव सम्बन्धी जानकारी नेपाली भाषामै प्रकाशित गर्न यो जनगणना ले मद्दत गर्छ । मतदान अधिकारको इतिहासमा भाषिक र रेसिअल असमानतालाई ध्यान दिने हो भने जनगणना द्वारा प्रदान गरिएको जनसङ्ख्या सम्बन्धी जानकारी यी अधिकारहरूको रक्षा गर्नको लागि अत्यन्तै महत्त्वपूर्ण छन् । संविधानले ‘सबै नागरिकहरूको गणना’को सट्टा ‘सबै व्यक्तिहरूको गणना’ आवश्यक बनाउँछ ।
यदि सन् २०२० को जनगणनाको समयमा हाम्रो समुदायको जनसंख्या कम उल्लिखित भयो भने यसले राजनीतिमा मात्र होइन कि, हाम्रो समुदायलाई टेबलसम्म खाना पु¥याउन मद्दत गर्ने योजनालाई समेत प्रभावित गर्न सक्छ । साथै बच्चाहरूको स्वास्थ्य हेरविचार सम्म पहुँच सुनिश्चित गर्न सक्छ । बेरोजगारका लागि खान खर्च, मेडिकेयर, नेसनल स्कुल लन्च कार्यक्रम, र बालबालिकाको स्वास्थ्य बिमा कार्यक्रम आदि सहयोग माथि नकारात्मक प्रभाव पर्न सक्छ ।
यदि हामीले सन् २०२० मा एक सटिक गणना गर्न सकेनौ भने हामीलाई बर्षौ वर्ष सम्म हानी हुन सक्छ र हाम्रो समुदाय राज्य र सिटीबाट पाउने हरेक सुविधा बाट वञ्चित हुनेछ ।
विशेष गरी गणना गर्न कठिन हुने क्षेत्रहरूमा हामीले सबैलाई एक भएर सबै समुदायको उचित र सटिक गणनाको लागि काम गर्नुपर्छ जसले हाम्रो उपस्थितिको सुनिश्चितता गर्न सक्नेछ । यदि हामीले सन् २०२० मा एक सटिक गणना गर्न सकेनौ भने हामीलाई बर्षौ वर्षसम्म हानी हुन सक्छ र हाम्रो समुदाय राज्य र सिटीबाट पाउने हरेक सुविधाबाट वञ्चित हुनेछ ।
को कसले भाग लिन पाउछन जनगणनामा ?
अहिले अमेरिकन जनगणना ब्युरोले सन् २०२० को जनगणनामा के कस्ता प्रश्नहरू समावेश गर्ने भन्ने निश्चित गरेको छैन । समाचारमा जनाइए अनुसार व्यक्तिको कानुनी हैसियतका बारेमा राखिने प्रश्नहरूले जनगणनामा प्रभाव पर्नसक्छ कि भन्ने चिन्ता देखिएको छ । तर भर्खरै अप्रिल ५ तारिकमा थर्ड फेडरल कोर्टले व्यक्तिका कानुनी हैसियत सोध्ने प्रश्न गैह्रसंवैधानिक हो भनेर भनेको छ । तर पनि यो मुद्दा सर्वोच्च अदालत बाट निर्णय हुन् बाँकी नै छ ।
अमेरिकी जनगणना कार्यालयको आधिकारिक वेबसाईटमा पुष्ठ उल्लेख गरिएको छ । वेब साइटमा भनिएको छ ‘कानुनी हैसियत जे भए पनि जनगणनामा सबै जनाले सहभागी हुन पाउने छन् ।’
यद्यपि जनगणनामा अमेरिकी पासपोर्ट लिएका, स्थायी बसोबास अनुमति (ग्रीनकार्ड) लिएका, विद्यार्थी भिसामा रहेका, कागजपत्र विहीन र भिजिटर भिसामा रहेका सबैले भाग लिन पाउने छन् । सो कुरा अमेरिकी जनगणना कार्यालयको आधिकारिक वेवसाईडमा पुष्ट उल्लेख गरिएको छ । वेब साइडमा भनिएको छ ‘कानुनी हैसियत जे भए पनि जनगणनामा सबै जनाले सहभागी हुन पाउने छन् ।’
हाम्रो भूमिका के हुन्छ ?
अमेरिकामा बस्ने नेपाली समुदाय भित्र करिब एक सय भन्दा बढी सामाजिक, जातीय र क्षेत्रीय पहिचानका लागि खुलेका र अन्य नाफारहित संस्था छन् । जसले आफ्ना समुदाय भित्रका सदस्यहरूलाई जनगणनामा सहभागी गराउन उल्लेखनीय भूमिका खेल्न सक्नेछन् । जनगणना ब्युरोले देशभरि जनगणकहरू भर्ना गर्दैछ । यी अस्थायी जनगणकको जागिर सजिलो र राम्रो कमाई हुने पनि हुन्छन् । समुदायलाई सहयोग गर्दा केही अतिरिक्त आय प्राप्त गर्ने उत्तम अवसर पनि हुन सक्छ । त्यसैले हाम्रो समुदायबाट गणकको काम गर्ने व्यक्ति सन् २०२० को जनगणनाको लागि महत्त्वपूर्ण व्यक्ति हुनेछन् ।
सबैको गणना सुनिश्चित गर्नको लागि राज्य र समुदायहरूले अहिले सबै भन्दा महत्त्वपूर्ण गर्नै पर्ने काम भनेको जनगणना कम्प्लिट काउन्ट कमिटी (सी सी सी) मा सामेल हुनु र यस निकाय को लागि उचित कोष सुनिश्चित गर्नु हो। कम्प्लिट काउन्ट कमिटी शिक्षा, व्यवसाय, स्वास्थ्यकर्मी , धार्मिक संस्था र अन्य सामुदायिक संस्थाहरूबाट आएका र सरकार तथा सामुदायिक नेताहरूको सहभागितामा बनेको हुन्छ । तिनीहरूले एकसाथ एक विश्वसनीय आवाजको रूपमा आफ्नो स्थानीय समुदायको बारेमा भएको ज्ञानको आधारमा प्रतिक्रियाको प्रोत्साहन गर्नको लागि जनगणना जागरूकता अभियानको विकास र कार्यान्वयन गर्दछन् । यदि हामी सबै नेपाली सङ्घ संस्था मिलेर यो अभियानमा सहभागी भयौ भने हामी सबैको गणना निश्चित गर्न सक्नेछौ जसले हाम्रो पहिचान लाई सुनिश्चित गर्न सक्नेछ ।
विशेषगरि न्युयोर्कको कुइन्समा कुइन्सबोरो प्रेसिडेन्टको संयोजकत्वमा कुइन्स कम्प्लिट काउन्ट कमिटी र एसियन समुदायको तर्फबाट एसियन कम्प्लिट काउन्ट कमिटीको गठन भएको छ । नेपाली समुदायबाट हाल ‘अधिकार’ संस्था मात्र कुइन्स कम्प्लिट काउन्ट कमिटी सदस्य बनेको छ । अन्य सदस्य समेत यस कमिटीमा आबद्ध हुन् सक्छन् जसले हाम्रो समुदायका हरेक व्यक्ति र संस्था सँग सहकार्य गर्न सक्छ ।
हाम्रा समुदायका अन्य सामुदायिक संघ संस्थाहरूले पनि राज्यबाट जनगणनाको काम गर्नका लागि आर्थिक सहयोग माग्न सक्नेछन् जसबाट समुदाय सँग साझेदारी गरी हाम्रो समुदायको संख्या एकिन गर्न महत्त्वपूर्ण सहयोग गर्न सक्छ ।
महत्वपूर्ण कुरा हामीले हाम्रो समुदायलाई गणनाले कसरी प्रभाव पार्छ भन्ने कुरा सुनिश्चित गर्न सक्नु पर्छ । साथै हामी यस कार्यमा सक्रिय संलग्न भएर कोही पनि नछुट्नुस् भन्ने कुराको सुनिश्चित गर्नुपर्छ। यदि हामी सबै नेपाली सङ्घ संस्था मिलेर यो अभियानमा सहभागी भयौ भने हामी सबैको गणना निश्चित गर्न सक्नेछौ जसले हाम्रो पहिचान लाई सुनिश्चित गर्न सक्नेछ ।
(बास्तोला न्युयोर्कस्थित एलमस्ट हस्पिटलको कम्युनिटी एड्भाइजरी बोर्डका सदस्य हुन् ।)