१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विदेशमा नेपाल चिनाउने कार्यक्रममा किन हुँदैछ विवाद ?


१९ बैशाख २०७६, बिहिबार  

0
Shares

आङछिरिङ शेर्पा/न्युयोर्क

अमेरिकी व्यस्त जीवनसँगै वर्षमा एक दिन म्यानहटनको खुल्ला सडकमा हिँड्नुको मजा नै बेग्लै । त्यो पनि आफ्नै मातृभूमि नेपाललाई सम्झेर ।

हातमा नेपालको झण्डा फहराउँदै नेपाली पोशाकमा ढल्किएर गाउदै विदेशमा नेपाल चिनाउने दिन हो नेपाल डे परेड । विश्वमा नेपालीहरुको बाक्लो जनसंख्या भएको विभिन्न मुलुकहरुमा नेपाल चिनाउने नेपाल परेड गर्दै आएका छन् ।

सन् १९९० पछि अमेरिकामा बढ्दो नेपालीहरुको संख्यासँगै सन २०१६ बाट न्युयोर्कमा नेपाल डे परेड हुँदै आएको छ । तर यस्तो राम्रो उद्देश्य बोकेको कार्यक्रम शुरुवातदेखिनै विवादमा पर्नु आफैमा दुखद कुरा हो । यस पटक आगामी मे महिनाको १९ तारिख ‘जाऔँ है म्यानहटन’ भन्ने नाराका साथ चौथो नेपाल डे परेडको तयारी भइरहेको छ ।

परेड गत वर्ष झैं यस पटक पनि म्यानहटनको इस्ट थर्टी एट स्ट्रीटको फिप्थ एभिन्यु र पार्क एभिन्युको बीचबाट हुने भएको छ । नेपालको चिनारी यो कार्यक्रममा यस पटकको नेपाल डे परेडमा पनि आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले बहिष्कार गर्ने घोषणा गरेको छ । गत वर्ष र यस वर्ष पनि लगातार फिप्नाले नेपाल डे परेड जस्तो कार्यक्रम बहिष्कार गर्दै आएकोमा अन्य विभिन्न जातीय संस्थाहरु आश्चर्यमा परेका छन् । फिप्नाले केही सीमित व्यक्तिहरुको सक्रियतामा नेपाल डे परेडलाई व्यक्तिगत स्वार्थ पुरा गर्न बेग्लै कम्पनी दर्ता गरी परेड गरेको आरोप लगाउँदै बहिष्कार गरेको जनाएको छ । न्युयोर्कमा पहिलो र दोस्रो परेड फिप्नाकै नेतृत्वमा भएको थियो ।

त्यही क्रममा परेड गर्नकै लागि नेपाल डे परेड इन्क नामक सस्था दर्ता गरेका थिए । गत वर्ष इन्क र एनआरएनए न्युयोर्क च्याप्टरको संयोजकत्वमा परेड भयो । यस पटक इन्कले टाउन हल बैठकपछि सबैको उपस्थितिमा बोर्ड गठन गरी शेर्पा संघको अध्यक्ष निमा शेर्पाको अध्यक्षतामा ३७ सदस्यीय बोर्ड गठन गरेको छ । बोर्डले अब यो परेडसँगै आगामी दुई परेडसमेत संयोजन गर्ने भएको छ । बोर्डमा विभिन्न संस्थाहरुका प्रतिनिधिहरु समेटिएका छन् ।

कसरी भयो नेपाल परेड बर्षेनी विवाद ?

अमेरिकाको न्युयोर्कमा नेपाल चिनाउने कार्यक्रमको रुपमा पहिलो पटक सन् २०१६ मा आदिवासी जनजाति महासंघ फिप्ना, नेपाली कांग्रेसको भातृुसंस्था जन सम्पर्क समिति र एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्चले परेडको संयोजन गरेका थिए । तीन संस्थाले त्यतिखेर एनआरएनलगायत केही संस्थालाई नसमेटेको र राजनीतिक दलका संस्थाले नेतृत्व गरेको भनी चित्ता दुखाईसँगै नेपाल चिनाउने परेड गणतन्त्र दिवसको नाममा मात्र गरियो भनी हिमालय बुद्धिस्ट कम्युनिटी र शेर्पा किदुगले बहिष्कार नै ग¥यो । त्यतिखेर शेर्पा किदुगको चाहना एभरेस्ट डेको अवसरमा हुनुपर्छ भन्ने र हिमालयन बुद्धिस्ट कम्युनिटीले बुद्ध जयन्तीको अवसरमा हुनुपर्छ भन्ने अडान राखेको थियो । तर उनीहरुको भावना विपरीत गरेको भनी त्यतिखेर कमै झाँकी र सहाभागीहरुकोबीच परेड भएको थियो । त्यस्तै दोस्रो परेड सन् २०१७ मा आदिवासी जनजाति महासंघ फिप्नाले रिज्युउड नेपाली सोसाइटीसँग मिलेर बुद्ध जयान्ती र गणतन्त्र दिवस दुबैको नाम राखेर संयोजन गरेका थिए ।

त्यतिखेर प्रवासी मञ्च र जन सम्पर्क समितिलाई संयोजकबाट हटायो भनेर उनीहरुले निकै विरोध गरिएको थियो । त्यही विरोधको कारण परेड विवादित बनेको थियो । दोस्रो परेडको बेला फिप्नाका निवर्तमान अध्यक्ष लुइसाङ वाइबा र निवर्तमान वरिष्ठ उपाध्यक्ष मंगलदास श्रेष्ठले रिज्युउड सोसाइटीको अध्यक्ष रवि कोइरालासँग मिलेर सुटुक्कै नेपाल परेड डे इन्क संस्था खोल्नुको साथै लामो समयसम्म परेडको हिसाबकिताब नदेखाएको भनी फिप्नाका वर्तमान कार्यसमितिले विरोध गरेकै कारण विवाद लम्बियो । त्यही विवाद मिलाउन फिप्ना र इन्कबीच पटक पटक वार्ता भएको थियो । गत वर्षको परेडका लागि सहमति गर्न अनेक प्रयासहरु भइरह्यो । महिनौदेखि हुँदै आएको कोठे बैठक, टाउनहल बैठक र नेपाली कन्सुलेटको रोहबरको साझा लिखित सहमति बैठकपछि परेडको अन्तिम खाका कोरियो ।

ज्याक्सन हाइटको वार्तापछि नेपाली कन्सुलेटको रोहबरमा गत मे १ तारिख सबै संस्थाहरुको उपस्थितिमा भएको सामुहिक बैठकले तोकिएको समयमा परेड गर्न लिखित सहमतिसहित तदर्थ समिति गठन ग¥यो । कन्सुलेट रोहबरमा भएको सहमतिअनुसार फिप्नाको संयोजनमा गठित तदर्थ समितिले तीन पटक बैठक बस्यो । त्यतिखेरको सहमतिअनुसार बैठकको मुख्य हिस्सा भनेकै नेपाल डे परेड इन्क नामक संस्थाले फिप्नाको नामबाट गरेको आयव्यायको हिसाब, सबै अफिसियल कागजपत्र फिप्नालाई बुझाएर तदर्थ समितिलाई बुझाउने भन्ने नै थियो । त्यसैअनुसार तेस्रो बैठकमा इन्कको तर्फबाट लुइसाङ वाइवा र रिज्युउड सोसाइटीका निवर्तमान अध्यक्ष रवि कोइरालाले फिप्नाको वरिष्ठ उपाध्यक्ष राजकुमार विष्टलाई दुई वर्षको आयव्यायको हिसाब र सम्पूर्ण कागजात बुझाएको थियो । हिसाब र कागजपत्र बुझ्ने वितिकै विष्टले कार्यसमितिमा छलफल गरी २४ घण्टाभित्र फिप्नाको आधिकारिक धारणा तदर्थ समितिलाई दिने भनेर बैठक टुँगिएको थियो । भोलिपल्ट फिप्नाले कार्यसमितिको निर्णयअनुसार इन्कले बुझाएको हिसाब अपुरो भएको भनी उनीहरुले कमिटिबाट बाहिरिएर परेड बहिष्कार गरेका थिए । उनीहरु बाहिरिए र तदर्थ समितिमा रहेका ११ जनाले परेड तोकिएकै समयमै गर्ने भनी एनआरएन न्युयोर्क च्याप्टरको तत्कालिन अध्यक्ष रामहरि अधिकारीको संयोजनमा परेड गरेका थियो । तदर्थ समितिमा रहेका सदस्यहरुको चाहना अनुसार पटक पटकको बैठकको निर्णयले ५ जना कन्भेनर राखेर ३५ सदस्यीय स्टेरिङ कमिटि बनाएको थियो ।

त्यसपछि पनि कमिटीमा भएको केही व्यक्तिहरुले परेडको लागि पाएको परमिट पनि एनआरएनएकै नाममा हुनुपर्छ भनेर केही दिन अल्झाए । तर उनीहरुले भने झै परमिट थपे पनि सर्न मिलेको थिएन । अन्तिममा परेडको परमिट एनआरएनको नाम पनि थपेर सबैको सहमतिमा परेड गरिएको थियो । नेपाल र नेपालीको पहिचान र गौरवमा एनआरएनए न्युयोर्क च्याप्टरले संयोजन गर्दा पनि तर केही संस्थाका अगुवाहरु भने व्यक्तिगत इगो र रिसिइबीकै कारण परेडलाई विवादीत बनाउनमा लागि परेका थिए । प्रवासमा सबै नेपाली समुदाय एक हुनुपर्नेमा यस्तो किसिमको विवाद र विभाजन हुनु कसैको लागि हितकारी थिएन । गत वर्षको तितो अनुभवपछि यस पटकको चौंथो परेड गर्दा गत वर्षको परेड संयोजक एनआरएनए न्युयोर्क च्याप्टरले सबै समुदायलाई बोलाएर टाउनहल बैठक बोलाएर मिलाउनु पथ्र्यो । त्यो हुन सकेन । त्यो हुन नसकेपछि इन्कबाटै परमिट लिइसकेपछि पूर्व कन्भेनर रवि कोइरालाले टाउन हल बैठक बोलाए । त्यही बैठकले सत्येन्द्र शाहलाई कन्भेनर तोकेर ३५ सदस्यीय स्टेरिङ कमिटि गठन गर्नुको साथै सहजकर्ता समिति बनाएर फिप्नासँग मिलाउने कार्य गरेको थियो । सहजकर्ताबाट फिप्नालाई लिखित र मौखिक दुबै तवरबाट मिलाउन कार्य गरेका थिए तर उनीहरुले आउन चाहेनन् । फिप्नाले नेपाल डे परेड इन्कको नाममा जारी भएको परमिटमा फिप्ना जाँदै नजाने भन्ने अडान राखेलगत्तै उनीहरुले बहिष्कार गरे । त्यसलगतै इन्कको तर्फबाट पूर्व कन्भेनर कोइरालाले सार्वजनिक सुचना जारी गरी इन्कको बोर्ड गठनको आव्हान गरे ।

त्यसैअनुसार गत हप्ता मेको २८ तारिख विभिन्न समुदायहरुको उपस्थितिमा शेर्पा संघको अध्यक्ष निमा शेर्पाको अध्यक्षतामा ३७ सदस्यीय बोर्ड गठन गरिएको थियो । दुई वर्षे कार्यकाल रहेको त्यही बोर्डले सबैलाई समेटेर हरेक वर्ष नेपाल डे परेड गर्ने निर्णय गरियो । बोर्डमा निर्वाचित भएका कार्यसमितिलाई पूर्व कन्भेनरहरु लुइसाङ वाइबा, रवि कोइराला र मंगलदास श्रेष्ठले सबैलाई खादाले शुभकामना दिएका थिए ।
‘अमेरिकाको न्युयोर्कमा नेपाल चिनाउने नेपाल डे परेड कार्यक्रममा विवाद गर्नु राम्रो होइन’ फिप्नाका संस्थापक सदस्य अन्जन श्रेष्ठले भने, ‘अब नेपाल डे परेडको नाममा दर्ता भएको कम्पनीमार्फत संस्थागत रुपमा अघि बढाएर परेड गर्नुपर्छ ।’ उनका अनुसार नेपाल डे परेडको नाममा दर्ता भएको संस्थाको लागि गठन भएको बोर्डले राम्रो विधान बनाएर संस्थागत रुपमा सबैलाई समेटेर अघि बढेमा जसले बहिष्कार गरेपनि केही फरक पर्दैन । ‘हाम्रो चाहना भनेको पनि सबै नेपाली समुदायलाई फाइदा पुगोस भनेर हामीहरुले नेपाल डे परेड इन्क कम्पनी खोलेका हौ,’ फिप्नाका निवर्तमान अध्यक्ष तथा नेपाल डे परेडका पूर्व कन्भेरन वाइबाले भने, ‘नेपाल डे परेड जस्तो कार्यक्रममात्र गर्न यो संस्थाको आवश्यकता देखेर हामीले दर्ता गरेको हौ ।’ संस्था जन्माउनेमात्र होइन त्यो संस्थालाई मलजल गरेर नेपाल र नेपालीको लागि काम गर्न त सबै एकजुट भएर लाग्नु पर्ने उनको भनाई थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ११ : १० बजे