६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

जापानमा नयाँ सम्राट, नयाँ युग


८ जेष्ठ २०७६, बुधबार  

0
Shares

बीके नेवा-

जापानले नयाँ सम्राट पाएको छ । नारुहितो जापानका १२६औँ सम्राट बन्नुभएको छ । उहाँले मे १,२०१९मा विधिपूर्वक राज्यारोहण गर्नुभयो । राज्यारोहणको औपचारिक र परम्परागत विधि सम्पन्न भएपछि पहिलो पटक सम्बोधन गर्दै उहाँले विश्वको जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गर्नुभयो । नारुहितोले भावुक हुँदै आफ्ना पिता अकिहितोप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँका पिता अकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बन्नु भएको हो ।

 

लेखक

मे १ को बिहान आयोजित प्रतीकात्मक समारोहमा सम्राट नारुहितोलाई उहाँका पूर्वजको नासो हस्तान्तरण गरिएको थियो । नारुहितो नयाँ सम्राट बनेपछि ’रेवा’ नाम दिइएको ’नयाँ युग’ आरम्भ भएको छ । जापानी भाषामा रेवाको अर्थ सुव्यवस्था र सामन्जस्य हो । जापानमा सम्राट फेरिएपछि नयाँ युग सुरु गर्ने प्रचलन छ । अकिहिताकोे शासनकाललाई ‘हेसे’ नाम दिइएको थियो । उहाँको शासन सन् १९८९ मा शुरू भई २०१९ मा आएर अन्त्य भयो । उहाँले ३१ वर्ष शासन गर्नुभयो । हेसेको अर्थ ’शान्ति हासिल गर्नु’ हो । अकिहितोभन्दा अघिको शासनकाललाई ’शोवा’ भन्ने गरिन्थ्यो, जसको अर्थ सुसूचित सद्भाव थियो । त्यसको नेतृत्व युद्धकालीन जापानका सम्राट हिरोहितोले गर्नुभएको थियो । ६४ वर्ष लामो उक्त कालखण्ड दोस्रो विश्वयुद्ध र द्वन्द्वपछि जापानको विकासको साक्षी बनेको थियो ।

जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन । त्यही भएर त्यहाँको राजसंस्था राजनीतिक विवादमा पर्दैन । सम्राटलाई राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छ । उमेर र स्वास्थ्यका कारण देखाउँदै ८५ वर्षीय आकिहितोले अप्रिल ३०, २०१९ मा गद्दीत्याग गर्नुभएको थियो । २०० वर्षपछि पहिलो पटक जापानी सम्राटले स्वेच्छाले गद्दीत्याग गर्नुभएको हो ।

समारोहमा नारुहितोलाई नासोका रुपमा एउटा तरबार, एउटा बहुमूल्य जुहारात तथा ऐना दिइएको थियो । ५९ वर्षीय सम्राट नारुहितोलाई उहाँका पूर्वजका ती नासो हस्तान्तरण गरिएको थियो । ती वस्तुलाई जापानमा शक्तिको प्रतीक मानिन्छ । जापानको राजपरिवारमा पुस्तौँदेखि त्यसरी नै नयाँ सम्राटलाई ती वस्तु दिइँदै आइएको छ । हस्तान्तरण गरिएको शाही खजानामा एउटा ऐना पनि छ । त्यसलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ र सधैँ एउटा मन्दिरमा राख्ने गरिएको छ ।

अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्नुभएका नारुहितो २८ वर्षको उमेरमा राजसंस्थाको उत्तराधिकारी घोषित हुनुभएको थियो । नारुहितो र मासाकोको विवाह सन् १९९३ मा भएको थियो । जापानको राजसंस्था अहिले विश्वमा अस्तित्वमा रहेकामध्ये सबैभन्दा पुरानो संस्था हो । यो इसापूर्व ६०० देखि सुरु भएको मानिन्छ ।

जापानमा सम्राटलाई ईश्वर मानिन्थ्यो । तर नारुहितोका हजुरबुबा सम्राट हिरोहितोले दोस्रो विश्वयुद्धको अन्त्यतिर जापानले आत्मसमर्पण गर्दा सार्वजनिक रूपमा दैवी शक्ति परित्याग गरेको घोषणा गर्नुभएको थियो । राजगद्दी त्यागेका आकिहितोलाई जापानी भाषामा ‘जोको’ भनेर सम्बोधन गरिन्छ । जोकोको अर्थ ‘बडासम्राट’ हो । अङ्ग्रेजीमा उहाँलाई ‘एम्परर इमेरिटस’ अर्थात् ‘मानार्थ सम्राट’ र मिचिकोलाई ‘एम्प्रस इमेरिटा’ अर्थात् ‘मानार्थ सम्राज्ञी’ भनिन्छ ।

जापानी राजसंस्था अत्यन्तै मर्यादित र सम्मानित छ । जापानीहरुले राजसंस्थालाई निकै महत्व दिने गरेका छन् । राष्ट्र र जनताप्रति सधै सकारात्मक रहेकै कारण राजसंस्था सम्मानित भएको हो ।

विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापान विश्वकै ठूलो दाता पनि हो । त्यहाँको जनसंख्या १२ करोड ६५ लाख पुगेको छ । क्षेत्रफल ३ लाख ७७ हजार ८६४ वर्ग किलोमिटर रहेको जापानको मुख्य भाषा जापानी हो । जापानीहरु सिन्तो धर्म मान्छन् । पुरुषको औसत आयु ८१ वर्ष र महिलाको ८७ वर्ष छ । जापानीहरु निकै परिश्रमी छन् । मिहिनेत गरेर नै जापानलाई समृद्ध बनाएका हुन् । पहिलो र दोस्रो विश्वयुद्धमा होमिएको जापान युद्धपछि शान्तिको बाटोमा हिँडेको छ । शान्तिको बाटो समाएपछि जापानले ठूलो प्रगति गरेको हो ।

जापानी राजसंस्थाले जनतालाई अधिकार दिन कन्जुस्याँइ गरेन । जनतालाई सबै राजनीतिक अधिकार दिएको राजसंस्था आफू राजनीतिक विवादमा पर्न चाहेन । राजसंस्थाले राजनीति गरेन जसले गर्दा विवादमा पर्नु परेन । विवादमुक्त भएकै कारण सबै क्षेत्रबाट राजसंस्था सम्मानित भयो । एकताको प्रतीक बनेको राजसंस्थाको यो परम्परालाई निरन्तरता दिन नयाँ सम्राटबाट पनि विवादमुक्त काम हुने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार  १० : ५१ बजे