४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

कान्छी डोल्मा ह्योल्मोले पुर्‍याईन विश्वको सर्वोच्च शिखरमा ह्योल्मो पहिचान


Ang

१५ जेष्ठ २०७६, बुधबार  

4
Shares

तेम्बा दोङ्बा ह्योल्मो

“मेरो अभियान, ह्योल्मोको पहिचान, संग संगै हिंडौ“ भन्ने मूल नाराकासाथ ह्योल्मोकी छोरी कान्छी डोल्मा ह्योल्मोले अल्पसंख्यक ह्योल्मो जातिका महिलाहरूको प्रतिनिधित्व गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । उनी यही २०७६ साल जेठ ९ गते बिहिबार बिहान ५ बजेर २० मिनटमा सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी थिईन् । हेलम्बु गाँउपालिका वडा नं. १, धाक्पाखर्ककी कान्छी डोल्मा ह्योल्मोले अल्पसंख्यक ह्योल्मो जातिको जातिय पहिचानलाई विश्वको सर्वोच्च शिखरमा पुर्‍याई व्यापक प्रचारप्रसारमा टेवा पुर्‍याउने हेतुले सो आरोहण अभियान थालेकी थिईन ।

ह्योल्मो महिलाहरुलाई साहासिक पर्यटन क्षेत्रमा संलग्न गराउन, ह्योल्मो कला संस्कृति तथा भेषभुषालाई जगेर्ना गर्नुका साथै हेलम्बु पर्यटन क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय जगतमा प्रचार प्रसार गरी पर्यटन प्रबर्धनमा टेवा पुर्‍याई ह्योल्मो क्षेत्रको आर्थिक विकासमा केही योगदान दिनको लागि पनि उनले यस चुनौतीलाई अंगिकार गरेकी थिईन । ह्योल्मो महिलाहरुको परम्परागत भेषभूषामा सझिएर नेपाल ह्योल्मो समाज सेवा संघ, नेपाल ह्योल्मो महिला संघ, ह्योल्मो समाज सेवा केन्द्र, ह्योल्मो सोसाईटी अफ अमेरिका लगायत अन्य सहयोगी संघसंस्थाका झण्डाहरु साथमा लिएर उनले विश्वको सर्वोच्च शिखरमा पुगेकी थिईन ।

अधिकांश ह्योल्मोहरुको नागरिक्तामा लामा वा शेर्पा लेखेको पाईन्छ र उनको पनि कान्छी डोल्मा शेर्पा नै लेखिएको थियो । लामा वा शेर्पाले जातिय आन्दोलनबाट प्राप्त ह्योल्मो जातिको जातिय पहिचानलाई प्रतिनिधित्व नगर्ने भएको हुदाँ उनले सगरमाथा आरोहणमा जानु अघि आफ्नो नागरिक्ता नै संशोधन गरी कान्छी डोल्मा ह्योल्मो बनाएकी थिईन । साथै आम ह्योल्मोहरुलाई आफ्नो जातिय पहिचान ह्योल्मोलाई लिपिबद्ध गर्ने अभिप्रेरित गर्न “मेरो अभियान ह्योल्मोको पहिचान” भन्ने अभियानकासाथ सगरमाथाको टुप्पोमा पुगेकी थिईन ।

सगरमाथा आरोहणमा लाग्नु अघि उनले मनाङको चुलु इस्ट (६,१०० मिटर), हेलम्बुको गाङजाला हिमाल (५,८०० मिटर), ल्होबुचे हिमाल (६,११९ मिटर) लगायत विभिन्न हिमालहरुको सफल आरोहण गरिसकेकी थिईन ।

विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रेरणा कसरी मिल्यो भन्ने प्रश्नमा उनको यस्तो उतर थियो । “रोजगारको सिलसिलामा ईजरयलमा हुदाँ धेरै विदेशीहरुले तिमी कुन देशको हो भनि सोध्दा, म नेपालको हुँ भन्थे । नेपालको भन्ने वितिकै सगरमाथा देखेका छौ, सगरमाथा चढेका छौ भनेर सोध्थ्यो र यिनै प्रश्नहरुको उतर बटुल्नेक्रममा सगरमाथा आरोहण को मेलोमेसो बन्यो ।”

प्रथम ह्योल्मो महिला सगरमाथा आरोहण अभियानलाई नेपाल ह्योल्मो महिला संघ, नेपाल ह्योल्मो समाज सेवा संघ र ह्योल्मो समाज सेवा केन्द्रको विशेष पहलमा विश्वभरीका ह्योल्मो संघ संस्था, ब्यापार ब्यवसायी तथा आम ह्योल्मो महानुभावले आ–आफ्नो तवरबाट सहयोग, शुभकामना तथा शुभेच्छा अर्पण गरेका थिए । उनको सो अभियानलाई सफल पार्न प्रबासबाट ह्योल्मो सोसाइटी अफ अमेरिका, ह्योल्मो समाज यू के, ह्योल्मो सम्पर्क समिति दक्षिण कोरिया, ह्योल्मो समाज ईजरायल, ह्योल्मो सोसाइटी अफ क्यानाडा, ह्योल्मो समाज साईप्रस लगायतका ह्योल्मो संघ संस्थाहरूले सहयोग जुटाएका थिए । कान्छी डोल्माले आँटेको साहसिक कार्यलाई साथ दिदै आएका संसार भरका ह्योल्मोहरु अहिले उनले ‘मेरो अभियान, ह्योल्मोको पहिचान” अंकित झण्डालाई सगरमाथाको चुचुरोमा पुर्‍याउन सफल हुदां सम्पूर्ण ह्योल्मो समुदाय खुशी मनाई रहेका छन् । आदिबासी ह्योल्मो समुदायको तर्फबाट सिङ्गी लामा ह्योल्माले सन २०११ मा सगरमाथाको सफल आरोहण गरी प्रथम ह्योल्मो पुरूष आरोही बनेका थिए ।

सफल आरोहण पछि फर्कनेक्रममा सगरमाथाको आधारसिविरबाट आरोहनबारे जानकारी दिन यस पङतिकारसंगको छोटो कुराकानीमा कान्छी डोल्मा ह्योल्मोको यस अभियानलाई सफल पार्न सहयोग पुर्‍याउने सम्पूर्ण स्वदेश तथा विदेशमा कार्यरत संघ–सँस्था, ह्योल्मो आमाबुबा, दाजुभाई दिदीवहिनी तथा शुभेक्षुक सबैमा हार्दिक धन्यवाद व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ७ : ४७ बजे