६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

सोलुखुम्बुको सोताङको सहयोगका लागि न्युयोर्कको बेयर माउन्टेनमा हाइकिङ


२० जेष्ठ २०७६, सोमबार  

0
Shares

न्युयोर्क । सोलुखुम्बुको सोताङमा सहयोग पुर्‍याउन न्युयोर्कस्थित बेयर माउन्टेनमा आयोजित हाइकिङ(पदयात्रा)मा पाँच दर्जन बढी पदयात्री सहभागी भएका छन् । जुन एक शनिबार भएको पदयात्रामा महावाणिज्यदूत पुष्पराज भट्टराईका साथमा पदयात्रीहरु सहभागी भएका थिए । न्युयोर्कस्थित सामुदायिक संस्था अल्ट्रस्टिक अडिसेले पदयात्राको आयोजना गरेको हो ।

आयोजक संस्थाका अनुसार सोलुखुम्बुको सोताङमा अवस्थित कलेजमा केही थान कम्युटरसहित प्रशिक्षण कक्षा सञ्चालन लगायतका सहयोग गर्न आवश्यक रकम जुटाउन पदयात्राको आयोजना गरिएको हो । संस्थाको वार्षिक कार्यक्रमअनुसार नेपालको शिवपुरीमा, न्युयोर्कको बेयर माउन्टेनमा र मेरील्यान्डमा बर्सेनी पदयात्रा सञ्चालन गर्दै आएको छ । गत वर्षबाट शुरु गरिएको बेयर माउन्टेनको पदयात्रामा यस पटक सहभागी संख्यामा वृद्धि देखिएको आयोजक संस्थाका अध्यक्ष एडमन्ड एन्टोइनले बताउँदै खुसी व्यक्त गरे । तर अझै अपेक्षानुसार नेपाली समुदायको सहभागिता हुन नसकेको बोर्ड सदस्य मध्येका एकले गुनासो पोखाए । न्युयोर्क लगायत आसपासमा बसोबास गर्ने सोलुखुम्बुका जनसमुदायलाई जानकारी गराए पनि कमैमात्रको उपस्थिति देखिएका थिए ।

बेयर माउन्टेनमा पदयात्रा अनुभव पहिलो भएको अधिकांश सहभागी पदयात्रीहरूले बताए । उकालो उक्लनु केही कठिन अनुभव भए पनि रमाइलो लागेको र आत्मविश्वास बढेको उनीहरूले अनुभव सुनाए । काम विशेषले नेपालको गाउँघरमा धेरै पटक उकालो उक्लेको र ओराली झरेको अनुभव भए पनि रमाइलो पदयात्राकै रूपमा अमेरिकामा अनुभव सँगाल्न पाउँदा खुसी लागेको अमेरिका भ्रमणको क्रममा सहभागी भएकी शर्मिला श्रेष्ठले अनुभव सुनाइन् । उनका श्रीमान हरिनारायण राजभण्डारी र उनी वासिङ्टन डिसीदेखि सहभागी हुन न्युयोर्क आएका थिए । सोलुखुम्बुको लागि खर्चिने गरी फन्ड राइजिङ हाईकिङमा आफूहरु सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको राजभण्डारीले बताए । सहभागीहरूमाझ अनुभव साटासाट गर्ने क्रममा राजभण्डारीले आफूले सोलुमा हाई स्कुल अध्ययन गर्ने बेला कोसी पारीको सोताङ सोलुकै लागि पनि निकै दुर्गम ठाउँ भएको सुनाए । विकासित अमेरिकामा बसोबास गर्ने जनसमुदायले सोलुको त्यस्तो दुर्गम गाउँमा बसोवास गर्ने जनसमुदायलाई सम्झेर यसरी पदयात्रा गर्नु सह्रानीय भएको बताउँदै उनले खुसी प्रकट गरे ।

उक्त पदयात्राबाट २,३००(दुई हजार तीन सय) डलर रकम संकलन भएको सहभागीहरू माझ आयोजक संस्थाले जानकारी गरायो । सहभागीहरूबाट प्राप्त शुल्कबाहेक न्युजर्सी निवासी वीमा व्यवसायी यम अधिकारी, न्युमेक्सिको निवासी नर्स पेमा तामाङलगायत अन्य केहीले सोताङ आयोजनाको लागि थप सहयोगसमेत योगदान गरेका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ८ : २४ बजे