१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव वासिङटन डिसीमा जुन २८ बाट


८ असार २०७६, आइतबार  

0
Shares

न्युयोर्क । नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ लगभग तयारी अवस्थामा पुगेको जानकारी आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष एवं महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले दिएका छन् । तेस्रो संस्करणको यो महोत्सव वासिङटन डिसी महानगर क्षेत्रमा आगामी जुन २८ देखि ३० सम्म हुने कार्यक्रम रहेको छ ।

बराइलीकाअनुसार महोत्सवमा वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा मानार्थ सभापति रहने छन् । यसका लागि सुब्बा नेपालबाट अमेरिका आइपुगिसकेको बराइलीले बताए ।

महोत्सवमा प्रदर्शनीका लागि संसारभरबाट विभिन्न विधाका लगभग तीन दर्जन बढी चलचित्रहरू दर्ता भएको बराइलीले जानकारी दिए । उनका अनुसार यो महोत्सवमा डिसी महानगर क्षेत्रबाट पनि ६ वटा स्थानीय चलचित्रहरूलाई विशेष स्थान दिइएका छन् । विनोद पौडेल निर्देशित चलचित्र ‘बुलबुल’को प्रदर्शनी सँगै मेरिल्यान्डको सिल्भर स्प्रिङ्समा महोत्सवको उद्घाटन हुनेछ भने मेरिल्याण्डकै ह्यातस्भिलमा हुने समापन समारोहमा प्रवीण स्याङ्वो निर्देशित ‘कथा’७२’ चलचित्र प्रदर्शनी गरिने छ ।

महोत्सवमा मूलतः नेपालमा बनेका विशेष चलचित्र, वृत्तचित्र, लघु चलचित्र तथा वृत्तचित्र, सजीवता (एनिमेसन) लगायतका विधामा निर्मित चलचित्रहरू प्रदर्शन गरिने बराइलीले जानकारी दिएका छन् । नेपाल बाहेक दक्षिण एसिया, अमेरिका सहित विश्व भरी बनेका केही चलचित्रसमेत महोत्सवमा प्रदर्शन गरिने छ ।

जुन २८ शुक्रबारका दिन साँझ ६ः३० बजे सुरु हुने उद्घाटन समारोह रेड कार्पेटसहितको हुने छ । उद्घाटन र समापन समारोहको विशेष कार्यक्रममा सहभागी हुनको लागि चलचित्र हेर्ने सुविधासहित प्रत्येक समारोहका लागि २० डलरमात्र शुल्क लाग्ने छ । दोस्रो र तेस्रो दिन भने दैनिक १० डलर शुल्कमा चाहे अनुसारको चलचित्र हेर्न पाइने छ । महोत्सवको पुरै अवधिमा सहभागिता हुन चाहनेका लागि १०० डलर शुल्कमा विशेष (भिआईपी) प्रवेश पत्रको व्यवस्था गरिएको बराइलीले बताए ।

उनका अनुसार चलचित्रहरू प्रदर्शनपछि चलचित्रबारे दर्शकहरूसँग प्रत्यक्ष छलफल गर्न चलचित्र निर्माता, निर्देशक र कलाकारलाई सकेसम्म उपस्थितिको व्यवस्था मिलाइएको छ । साथै प्रतिस्पर्धाका लागि प्रदर्शन गरिएका उत्कृष्ट चलचित्रलाई पुरस्कृत समेत गरिने छ । चलचित्र छनौटका लागि चलचित्र निर्देशक मीनबहादुर भामको संयोजकत्वमा निर्देशक रेबेक्का बुस्तामन्ते र निर्मात्री, लेखक तथा निर्देशक मिमि मचादो लुसेस् सम्मिलित तीन सदस्यीय जुरी कमिटी बनाइएको छ ।

नेपाल र अमेरिकाको कला, संस्कृति र ज्ञानलाई चलचित्रको माध्यमबाट जोड्ने लक्ष्यका साथ स्थापित नेपाल अमेरिका फिल्म सोसाइटीले अमेरिकामा सन २०१७ देखि हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : ३५ बजे