७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

नेपालको टी २० क्रिकेट विश्वकप खेल्ने सपना अधुरै


१२ श्रावण २०७६, आइतबार  

0
Shares

काठमाडौँ ।  सिंगापुरमा भएको टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा सिंगापुरसँग पराजित भएसँगै नेपालको टी २० विश्वकपमा यसपटकको यात्रा समाप्त भएको छ ।

सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी २० विश्वकपमा पुग्ने योजनाका साथ नेपाल सि‌ंगापुरविरुद्ध मैदानमा उत्रिएको थियो । तर, ग्लोबल क्वालिफायर यात्रासमेत रोकिएपछि नेपालको विश्वकप पुग्ने बाटो यसपटकका लागि बन्द भएको हो ।

५ राष्ट्र सहभागी एसिया क्वालिफायरमा अघोषित फाइनलको रुपमा रहेको सिंगापुरविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गर्‍यो ।

इन्डियन एसोसिएसन ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली सिंगापुरले २० ओभरमा १९१ रन बनाएको थियो ।

१९२ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो ।

कतारविरुद्धको पहिलो खेलमा अप्रत्यासित हार बेहोरेपछि नेपाललाई बाँकी सबै खेल जित्ने चुनौती थियो । मलेसिया र कुवेतलाई सहजै हराउँदै नेपालले सिंगापुरविरुद्धको खेललाई अघोषित फाइनल बनाएको थियो ।

सिंगापुरले नेपालविरुद्ध टी २० मा अहिलेसम्मकै उच्च स्कोर बनाउँदा नेपालले जितका लागि कीर्तिमानी लक्ष्य पूरा गर्नुपर्ने चुनौती थियो । तर निर्णायक खेलमा नेपालको ब्याटिङ सम्हालिन सकेन ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ९ : ५६ बजे