सम्पादकीय
भदौ १३ गते बिहान सुर्खेतको कट्कुवा जंगलमा केही गाईहरु मृत अवस्थामा भेटिए । गाई १६ वटा मृत भेटियो भनेर कसैले लेखे भने कसैले २३ । पछि ३० वटासम्म मृत भेटिएको खबर पनि लेखे । शुरुका दिनमा भीरबाट खसालेर मारिएको भन्दै चर्चित अनलाइनदेखि छापा, रेडियो र टेलिभिजनमा समाचार छापियो, प्रसारण भयो ।
पछिल्लो समय पत्रकारिता बहकाउमा लागेको आरोप खेपिरहेको छ । ग्राउन्ड रियालिटी नबुझी समाचार उत्तेजक बनाएर प्रकाशन÷प्रसारणमा आयो । त्यसैको पछि कुद्यो राजनीतिक दलका नेता र अधिकारवादीहरु । उनीहरुले गौहत्या गर्नेलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै विज्ञप्ति निकाल्न थाले ।
गाई राष्ट्रिय जनावर हो । यसमा संविधान नमान्ने कुरा हुँदैन । त्यो घटनाले सबैलाई स्तब्ध नै पारेको थियो । यसको ग्राउन्ड रियालिटी बुझ्दै जाँदा पठाउने र लिने खोज्न नै निकै समय लाग्यो । पठाउने नेपालगन्जको कान्जी हाउस । पाउने दैलेखको शिरस्थान मन्दिर । तर, उक्त मन्दिरको समितिले विज्ञप्ति नै जारी गरी गाई नमगाइएको स्पष्ट पार्यो ।
विज्ञप्तिबाजीमा सबैभन्दा कडा विरोध राप्रपाले ग¥यो । अध्यक्ष कमल थापाले हतारहतारमा यसको कडा विरोध गर्यो । कांग्रेसले पनि यसलाई आफ्नो मुद्दामा समेट्न पछि परेन । शिरस्थान मन्दिरले गाई नमगाईको स्पष्ट पारेपछि कुरा कान्जीहाउसमै आयो । कान्जीहाउसबाट दुई दिनसम्म कोही पनि सम्पर्कमा आएनन् र पछि बेबारिसे अवस्थामा छाडिएका गाईहरु जिल्ला प्रशासन कार्यालय सुर्खेतले नेपालगन्ज नै फिर्ता पठायो । यो काण्डमा पशुअधिकारवादी र राष्ट्रवादीहरुले खुलेर विरोध गरे । तत्काल छानबिन समिति पनि गठन भयो ।
पछि गाई पठाउने व्यक्ति रहेछन् राप्रपाकै महामन्त्री एवं नेपालगञ्ज उपमहानगरका मेयर धवल शमशेर राणा । गाई मृत्यु भेटिएको तेस्रो दिन राणाले गाईहरु ट्रकको चेपाचेपमा मारिएको हुनसक्ने भन्दै गौहत्या भन्न नहुने दाबी गरे । यसरी ग्राउन्ड रियालिटी नबुझी गर्ने पत्रकारिता र राजनीतिक दलका कारण पछिल्लो समय सद्भाव खल्बलिने प्रयासहरु भएका देखिन्छन् । पत्रकारिता जनताको आवाज बोलिदिने र राज्यको चौथो अंग मानिने क्षेत्र हो भने राजनीतिक दल जनताको प्रत्यक्ष सरोकार राख्ने संस्था । यी दुई संस्थाको मुख्य काम सत्यतथ्य पत्ता लगाउने । तर यी दुबै संस्था सद्भाव नै बिगार्ने खेलमा लाग्छ भने देशले कुन गति लिन्छ ?