१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेद्वारी, यस्तो छ उनको प्यानल


२७ आश्विन २०७६, सोमबार  

0
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय उपाध्यक्षसमेत रहेका उनले राजधानीको रोयल सिंगे होटलमा पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले संघलाई सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा बनाई सबैलाई अपनत्व महसुस गर्ने संघ बनाउनका लागि आफुले उम्मेदवारी दिएको बताए । उनले आफ्नो उम्मेदवारीसँगै १० बुँदे प्राथमिकताका विषय पनि सार्वजनिक गरेका छन् ।

उनले झन्झटमुक्त गैर आवासीय नेपाली नागरिकता, लगानीको प्रत्याभूति, मर्यादित तथा सुरक्षित वैदेशिक रोजगार, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, ब्रेन ड्रेनबाट ब्रेन गर्ने, संस्थागत सुधारमा भिजन २०२० एन्ड बियोन्ड अवधारणालाई कार्यान्वयन तहमा लैजाने, सडक सुरक्षा, पर्यटन लगायत विषयलाई प्राथमिकताका साथ अघि सारेका छन् ।

उनले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकता विधेयकलाई संविधानको भावना तथा सम्पुर्ण गैरआवासीय नेपाली समुदायको चाहनाअनुसार पारित गराउन ठोस पहल गर्ने प्रतिवद्धता पनि जनाए ।

मंगलबारदेखि सुरु हुने गैरआवासीय नेपाली संघको ९ औँ विश्व सम्मेलनले आगामी कार्याकालका लागि संघको नयाँ नेतृत्व चयन गर्दैछ ।

यस्तो छ उनको प्यानल

आचार्यले उम्मेदवारीसँगै आफ्नो प्यानल पनि घोषणा गरेका छन् । उनको प्यानलबाट उपाध्यक्षहरुमा डा केशव पौडेल (अमेरिका) नरेन्द्र भाट (कतार), मन केसी (अष्ट्रेलिया) र रविना थापा (अमेरिका) रहेका छन् ।

यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटा रहेका छन् ।

महासचिवका दाबेदार पौडेल यसरी भए ब्याक

वरिष्ठ चिकित्सकसमेत रहेका डा केशव पौडेलले यसअघि होटल अन्नपूर्णबाट महासचिवमा उम्मेद्वारी दिने घोषणा गरेका थिए । प्यानलमा बेल्जियमकी जानकी गुरुङले महासचिव नछाड्ने भएपछि पौडेलले सहमतिका लागि उपाध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । पौडेलले अमेरिका एनआरएन एनसिसीमा दुई कार्यकाल नेतृत्व गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ८ : १० बजे