न्युयोर्क । नेपाली अमेरिकन कलाकार संघका अध्यक्षसमेत रहेका सुमन बुढामगरलाई वर्ल्ड नेपाली म्युजिक अवार्ड आयोजकले व्यववस्थापक र महासचिव पदबाट निलम्बित गरेको छ ।
अवार्डका लागि टपटेनमा परेकी मोडल छिरिङ डोमा शेर्पा ‘जेनिफर पिनासा’ लाई विभिन्न प्रलोभन देखाई दुर्व्यवहार गरेको आरोपमा बुढामगरलाई दुबै पदबाट निलम्बित गरेको आयोजक संस्थाले विज्ञप्तिमार्फत जनाएको हो ।
शुक्रबार संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म्युजिक अवार्ड न्युयोर्क-२०१९कार्यक्रमलाई आफ्नो हतियार बनाई कलाकार “जेन्निफर” ऊर्फ छिरिङ्ग डोमा शेर्पालाई इमोसनल ब्ल्याकमेल र सेक्सुअर हेरसमेन्ट गरेको आरोप लागेको समन बुढालाई मिति २०७६/०६/२७ गते बेलुकी ९:३० बजे निलम्बन गरेको जानकारी गराउँदछौँ । सुमन बुढा वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९ कार्यक्रम व्यवस्थापकको रुपमा रहेको थियो । सुमन बुढाले कार्यक्रमको हित विपरीत काम गरेको हुँदा हामी यो कदम उठाउन बाध्य भएकाछौं । आयोजक संस्था वर्ल्ड कनेक्सन युएसए अमेरिका इन्कबाट समेत सोही दिन महासचिव पदाबाट निलम्बन गरिएको छ ।
संस्थाले तत्कालका लागि महासचिव पदमा उपाध्यक्ष दावा शेर्पालाई गरेको जनाएको छ । बुढामगरले मोडल जेन्निफरलाई प्रलोभनमा पारी टप ३ मा पार्ने आश्वासन दिएको म्यासेज अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । सुमनको फेसबुकबाट छिरिङ (जेनिफर)लाई लेखिएको एउटा मेसेज छ- ‘ तिमीलाई टप ३ मा पुर्याउन म सहयोग गर्छु । म अक्टोबर १२ मा आउँदैछु । अनि हामी हेलिकप्टर लिएर मनाङ घुम्न जाने है ?’
उनले ‘भगवान बुद्धको कसम तिमीलाई माया गर्छु’, ‘अरुको छेउमा भगवान कसम बहिनी भन्छु’ भन्नेजस्ता वाचा गर्ने समेत गरेको देखिन्छ ।
कलाकारलाई सम्मान गर्न आयोजना गर्न लागेको अवार्ड आयोजककै पदाधिकारीले कलाकारको बदनाम गर्ने काम गरेकोले उनलाई संस्थाबाट निलम्बन गर्न बाध्य भएको अध्यक्ष आङगेलु शेर्पाले बताए ।
संस्थाले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै