वर्ल्ड नेपाली म्युजिक अवार्ड, न्युयोर्क २०१९ नोभेम्बर २३ मा न्युयोर्कमा हुँदैछ । कार्यक्रमका लागि सम्पूर्ण व्यवस्थापन भइसकेको छ । विश्वमा ३२ देशका कलाकारको सहभागिता रहने यस कार्यक्रमको उद्देश्य कलाकारलाई सम्मान दिनु हो र कलाकारलाई चिनाउनु हो । यसै सन्दर्भमा आयोजक संस्था वर्ल्ड कनेक्सनका अध्यक्ष आङगेलु शेर्पासँग एभरेस्ट टाइम्सका लागि मच्छे गुरुङले गरेको कुराकानी:
वर्ल्ड नेपाली म्युजिक अवार्डको आवश्यकता किन देखियो ?
म आफै कला क्षेत्रको व्यक्ति । धेरैले कलाकारलाई युजमात्र गरें । सम्मान भएन, संरक्षित भएनन् । त्यसैले म नेपाली कलालाई संरक्षण गरौं भन्ने उद्देश्यका साथ वल्र्ड नेपाली म्युजिक अवार्ड आयोजना गर्न लागेका हो । यहाँ ३२ देशका कलाकारले सहभागिता जनाएका छन् ।
जुनको १३ बाट हामीले यसको जानकारी दिएका हौं ।
यसको उद्देश्य कसरी पुरा होला ?
कलाकारलाई अन्तर्राष्ट्रिय रुपमा चर्चित बनाउने हाम्रो योजना हो । यो सबै प्रक्रियामा छ । निवेदन, टप टेनदेखि सबैमा छनोट प्रक्रिया भइसकेको छ । त्यसपछि चरणबद्ध काम हुन्छ ।
कुन कुन देशका प्रतियोगिहरु सहभागी छन् ?
पोर्चुगोल, युरोप, इजरायल, जापानलगायत देशका नेपाली कलाकार सहभागी हुनुहुन्छ ।
छनोट प्रक्रियामा जजहरु को को हुनुहुन्छ ?
नेपालमा अवार्ड फेयर भएन भन्ने आरोपहरु सुनें । पैसामा बिक्ने भन्ने कुरा पनि सुनें । त्यसैले हामीले जजलाई गोप्य राखेका छौ । हामीले जजलाई पनि कोड दिएका छौ । सेप्टेम्बरको २९ तारिखमा हामीले टप १० घोषणा गर्यौं । त्यही दिन हामीले जज् सार्वजनिक गरेका छौ । अमेरिकामा कार्यक्रम हुन्छ जसरी पनि पार्नुपर्छ भनेर दबाव हुन सक्छ भनेर हामीले गोप्य नै राखेका हौ । टप ३ का लागि पनि हामीले जज राखेका छौ । यो गोप्य नै हुनेछ । टप ३ सार्वजनिक गर्ने बेलामा हामी सार्वजनिक गर्नेछौ ।
कुन कुन विधामा अवार्ड स्थापना गर्नुभएको छ ?
यसमा राष्ट्रिय गीत, भाषाभाषी, लोकसेलो, पप गीत, मोडल गीत, लोपोन्मुख गीत गरी १८ विधाका १८० जना टप टेन सूचीमा परेका छन् । सबैजसो २०१८ यता रेकर्ड भएका गीतहरु हुन् । लोपोन्मुख गीतको सवालमा यसमा छुट गरिएको छ ।
सबै आदिवासी जानजातिको गीतलाई प्रमोट गर्ने काम पनि यस कार्यक्रमले गर्नेछ ।
यो कार्यक्रम किन न्युयोर्कमै ?
वल्र्ड म्युजिक कनेक्सन अमेरिकामै भएकोले हामीले यही गर्ने प्रयास गरेका हौं । नत्र नेपालमै शुरु गर्नुपर्छ भनेर साथीहरुले भन्नुभएको थियो । प्रत्येक वर्ष यही ठाउँमा हुन्छ भन्ने होइन । अर्को वर्ष अर्कै देशमा हुन्छ ।
आशा गरेअनुरुपको सहभागिता कस्तो पाउनुभयो ?
पहिलो चोटि आयोजना गर्दा ७ सयभन्दा बढीको निवेदन परेको छ । यसले पनि आशा गरेभन्दा बढी नै सहभागिता भए जस्तो लाग्छ । कलाकारहरुले उत्साहित भएर सहभागिता जनाउनु भएको छ ।
अमेरिकामा मान्छे भित्र्याउन यस्तो कार्यक्रम हुन्छ भन्ने आरोप लाग्छ नि ?
हामीले टप ३ लाई मात्र इन्भाइट गर्ने हो । त्यो नामबाहेक अर्को एकजनालाई पनि बोलाउँदैनौ । सिस्टमभित्र रहेर छान्ने हो । त्यो मान्छे सबै नेपालकै पर्छ भन्ने छैन । जापान, युरोप, अमेरिकामै बसिरहेका मानिसहरु पर्न सक्छन् । त्यसैले यो आरोपबाट हामी मुक्त हुन्छौ । हामी कागजी प्रक्रियामा मात्र हो । पैसाको लेनदेनमा हामी लाग्दैनौ ।
अवार्डहरु विवादित रहँदै आएको छ, निष्पक्षता कसरी निर्धारण गर्नुहुन्छ ?
अहिले हामी तेस्रो चरणमा छौं । भोटिङ पनि बन्द भएको छ । हामीले विभिन्न माध्यमबाट भोटिङ गरेका छौ । यो विशुद्ध कलाको हो । कुनै राजनीति वा अन्य विषय यहाँ घुस्दैन । त्यो दिन भव्य कन्सर्ट पनि हुनेछ । भव्य कार्यक्रम हुनेछ ।
कार्यक्रम कसरी सञ्चालन गर्नुहुन्छ ?
स्पोन्सर र दर्शकको सहयोगले । कार्यक्रमको टिकट ४० डलरको छ । धेरै दर्शकलाई उतार्ने हाम्रो योजना हो । १०० डलरको पनि टिकट राखेका छौ । यो चाहि डिनर विथ सेलिब्रेटी हो । ४० डलरको चै इन्ट्रीमात्र हो । सहयोग पनि माग्छौ ।
हामीले कम्पनीहरुबाट पनि सहयोगको आपेक्षा गरेका छौ । ट्राभल, टुरिजम बोर्ड, संस्कृतिक मन्त्रालयसम्म पनि प्रोपोजल पुगेको छ । आशा छ हामीलाई सहयोग आउँछ ।
तयारी कस्तो छ ?
अब केही समय बाँकी छ । जति सक्दो हामीले बजारमा पुर्याउँछौ । धेरै मान्छे सहभागी गराउने तयारी गरेको छ ।
नेपाली समुदायलाई के भन्नुहुन्छ ?
नेपाली समुदायले साथ दिनुहुनेछ भन्नेमा मैले आशा गरेको छु । सबैलाई अनुरोध पनि छ, सबै मिलेर कलाकारलाई सम्मान गरौं ।