७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

वर्ल्ड नेपाली म्युजिक अवार्ड ग्राण्ड फिनाले नोभेम्बर २३ मा


१७ कार्तिक २०७६, आइतबार  

0
Shares

मच्छे गुरुङ, न्युयोर्क ।
वर्ल्ड नेपाली म्युजिक अवार्डको ग्राण्ड फिनाले यही नोभेम्बर २३ मा हुँदै छ । वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ न्यूयोर्क संयोजन समितिले शनिबार प्रेस मीटद्वारा वर्ल्ड नेपाली म्युजिक अवार्डको ग्राण्ड फिनाले बारेमा जानकारी दिएको हो ।  न्यूयोर्कको लाग्वार्डिया प्लाजा होटेलमा गर्न लागेको कार्यक्रमका कन्भनेर राजकुमार बिस्टले जानकारी दिए । नेपाली गीत संगीतलाई संरक्षण र अन्तराष्ट्रिय क्षेत्रमा प्रबर्धन तथा गीत संगीतकर्मीहरुको सम्मानको लागि यो अवार्ड कार्यक्रम आयोजना गर्न लागेको कन्भेनर विष्टले बताए ।
 अवार्डको आयोजक संस्था वर्ल्ड कनेक्सन इंकका अध्यक्ष आङ गेलु शेर्पाले निस्पक्ष प्रतिस्पर्धा मार्फत उत्कृष्ट तीनमा परेका गीत संगीतबाट ग्राण्ड फिनालेमा प्रतिस्पर्धा हुने बताए । अध्यक्ष शेर्पाका अनुसार व्यवसायिक गीतकार र संगीतकार सम्मिलित जुरीले गर्नुभएको मुल्यांकन र दर्शक तथा स्रोताको भोटका आधारमा उत्कृृृृष्ट तीनमा परेका गीत संगीतबीच ग्राण्ड फिनालेमा प्रतिस्पर्धा हुनेछ । यो अवार्ड कार्यक्रमले नेपाली गीत संगीतकर्मीहरुलाई उर्जा दिने आयोजकले विश्वास गरेको छ । अवार्ड कार्यक्रमलाई निष्पक्ष बनाउँँनका लागि आयोजकले अहिलेसम्म जुरीको नाम सार्वजनिक नगरेेेको बतायो ।
विभिन्न अठार विधा अन्तर्गत उत्कृष्ठ तीनको छनौटमा पर्न सफल भएकाहरुको नामावली औपचारिक रुपमा सार्वजनिक गरेको छ । जुरीको मुल्यांकनका आधारमा गत सेप्टेम्बर २९ मा विभिन्न १८ विधा अन्तरगत उत्कृष्ट दश घोषणा गरिएको थियो । उत्कृष्ट दशमा परेका गीत संगीतबाट एसएमएस भोटिङ, अनलाइन भोटिङ, फेसबुक लाईक तथा जुरीको मुल्यांकनका आधारमा गत अक्टोबर २४ मा उत्कृष्ट ३ छनौट भएको हो ।
यो अवार्ड कार्यक्रमका लागि लोक दोहोरी, पप, आधुनिक तथा लोपोन्मुख विभिन्न भाषाभाषीका ७ सय ८२ जना गीत संगीतकर्मीले आवेदन दिएका थिए । त्यस मध्येबाट १८ विधामा ५४ जनाले अन्तिम प्रतिस्पर्धा गर्दैछन् । त्यसमध्ये प्रतिस्पर्धाका आधारमा हरेक बिधाका उत्कृष्ट एकले नोभेम्बर २३ मा वर्ल्ड नेपाली म्युजिकको उत्कृष्ट गीत संगीतको अवार्ड पाउँने छ ।
अवार्ड कार्यक्रममा गायिका सत्यकला राई, अञ्जु पन्त, केकी अधिकारी, पार्वती राई, आरुसी मगर, शंकर विसी,उमेश राई, मिंमार शेर्पा, आँचल शर्मा, मिलन लामा, मरिष्का पोखरेल लगायत विभिन्न कलाकारहरुको लाइभ प्रस्तुती रहने आयोजकले जनाएको छ ।
 
नेपालमा गत जुन १३ मा पत्रकार सम्मेलन गरी वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ को घोषणा गरिएको थियो । अवार्डका लागि गत जुन २१ देखि अगस्ट १३ सम्म आवेदन संकलन गरिएको थियो । आयोजकले अवार्ड कार्यक्रम सफल बनाउनका लागि ३० सदस्यीय संयोजन समिति बनाएको छ । उक्त समितीमा विष्णु रानामगर र महेश खड्का को–कन्भेनर रहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १२ : ०२ बजे