३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

एक गोरा अतिवादीलाई टेक्सासमा मृत्युदण्ड



वासिङ्टन । अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ । टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीया महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड दिइएको जेल अधिकारीले बताएका छन् ।

एएफपीका अनुसार अभियुक्त हलले न्यू मेक्सिको नजिकको मरुभूमिमा ती हत्या गरिएकी महिलाको शव गाडेका थिए । “आर्यन सर्कल” नामको समूह (ग्याङ) ले चलाएको लागूऔषध उत्पादन प्रयोगशालाका बारेमा प्रहरीलाई खबर दिने धम्की दिएपछि हलले ती महिलाको हत्या गरेको सरकारी वकीलले बताएका छन् ।

हलका वकीलहरुले मानसिक अस्वस्थताका कारण हलले ती महिलाको हत्या गरेको भन्दै माफी दिन अदालतसमक्ष पटकपटक आग्रह गरेका थिए, तर हल स्वयंले सन् २०१७ मा अदालतमा पुनः सुनुवाईका लागि आवेदन नगर्न वकीलहरुलाई आग्रह गरेका थिए ।

संयुक्तराज्य अमेरिकामा यसै वर्ष मृत्युदण्ड दिइएका हल १९औं व्यक्ति हुन् र तीमध्ये आठ जनालाई टेक्सासमा मृत्युदण्ड दिइएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  ५ : २३ बजे