७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

किन गर्छन् हरिबोधिनी एकादशीमा तुलसीको विवाह



हरिबोधिनी एकादशीका दिन शुक्रबार हिन्दुहरु नेपालीहरुले तुलसीको विवाह गरिरहेका छन् । नदी तथा जलाशय किनारमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

आजको दिन भगवान विष्णुको विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ । आजको दिन व्रत बसेर तुलसीको विवाह गर्ने चलन छ ।

सबै एकादशीभन्दा हरिबोधिनी एकादशी ठूलो भएकाले यसलाई ठूली एकादशी पनि भन्ने गरिएको छ ।  आजको नदी तथा जलाशयमा गई स्नान गरेर भगवान् विष्णुको आराधना गरेमा मनोका‌ंक्षा पूरा हुने जनविश्वास छ ।

आषाढ शुक्ल एकादशीका दिनदेखि शुरु भएको चर्तुमास व्रत आजबाट समाप्त हुन्छ । चतुर्मास व्रत बस्नेले आज फूलको लठ्ठासहितको डोली बोकेर नदी किनारमा पुगी फूल तार्ने गर्दछन् । आजको दिन नदी तथा जलाशयमा पुगी गरिने स्नान, दान र तपस्यालाई महत्वका साथ लिने गरिन्छ ।

आजै चिवतनको देवघाटधाम, ‍चित्रसारी, मझुई, माडीको सिधुवा, गोलाघाट, पटिहानीको सुन्दरबस्तीमा मेला लाग्ने गरेको छ ।  बाँसको लिङ्गो गाडेर तोरन टाँगेपछि देवघाटमा मेला सुरु हुने परम्परा छ ।

 

थारुको परम्परागत मेला

हरिबोधनी एकादशीमा थारू समुदायकाे परम्परागत मेला पनि बिहीबारदेखि नै सुरु भएका छन् । थारूहरुले मान्दै आएको ब्रह्मथान (मन्दिर)मा एकादशीको दिन पूजासँगै नाचगान गर्ने चलन छ ।

मेलामा थारू समुदायसँग सम्बन्धित संस्कृति र परम्पराका वस्तुहरु राखिएका छन् । मेलामा सबै समुदायका मानिसको भीड लाग्ने गरेको छ ।  ब्रह्मथानमा भाकल गरिने भएकाले ठूलो सङ्ख्यामा स्थानीयको उपस्थिति रहने गरेको छ ।

आजको दिन थारू युवाहरु व्रतसमेत बस्ने गरेका छन् । भगवान् विष्णुको पूजा, आराधना, भजनकीर्तन गर्छन् । व्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १२ : १० बजे