७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

‘बुलबुल’ आँधीबाट बंगलादेश र भारतमा २० को मृत्यु



ढाका (एजेन्सी)– ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुनेको २० पुगेको छ । बंगलादेश र भारतको तटीय क्षेत्रका आँधी प्रभावित २० लाख बढीलाई अस्थायी शिविरमा राखिएको अधिकारीहरूले बताएका छन् ।

करिब १ सय २० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार राति साढे ८ बजे भारतको पश्चिम बंगालबाट बंगलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आएको आँधीका कारण दुबै देशका बन्दरगाह र विमानस्थल बन्द गर्न बाध्य पारेको बताइएको छ ।

बुलबुलबाट भारतको पश्चिम बंगाल राज्यमा १० जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआई)ले जनाएको छ । अन्य दुई जनाको ओडिशा राज्यनजिकै मृत्यु भएको छ । बंगलादेशमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै अन्य २० घाइते भएका छन् ।

बंगलादेशको दक्षिणी टापु भोलानजिकै रहेको मेघना नदीमा माछा मार्न गएका पाँचजना माझी हराइरहेका छन् । आँधीबाट प्रायः माटो र जस्तापाताले बनाएका करिब चार हजार घरमा क्षति पुगेको छ ।

बंगलादेशको मौसम विज्ञान विभागका अनुसार बुलबुल आँधीले आइतबार नै बंगलादेशको दक्षिणपश्चिमी तटीय क्षेत्र पार गरिसकेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १० : ०२ बजे