१४ आश्विन २०८०, आइतबार | Mon Oct 2 2023

नेपाल भ्रमणमा आएका बंगलादेशी राष्ट्रपति हमिद के गर्दैछन् ?



काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार ४ दिने नेपाल भ्रमणमा आएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गार्ड अफ अनर प्रदान गरिएको छ। गार्ड अफ अनरमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी पनि विमानस्थल पुगेकी थिइन् । हमिदले आजै दिउँसो ३ बजे भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा बुधबार उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालयमा भेटवार्ता गर्ने कार्यक्रम छ । बिहीबार पोखरा र शुक्रबार चन्द्रागिरि केबल कारको अवलोकन भ्रमण गर्ने भएका छन् ।

राष्ट्रपति हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यसैगरी नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूको पनि शिष्टाचार भेट हुनेछ ।

सन् १९४४ जनवरी १ मा जन्मिएका हमिद सन् २०१३ को अप्रिलदेखि बंगलादेशको १९ औँ राष्ट्रपतिका रुपमा कार्यरत छन् । सन् २००९ देखि २०१३ को अप्रिलसम्म बंगलादेशको माथिल्लो सदन नेशनल पार्लियामेन्टको सभामुख रहेका थिए ।

बंगलादेशले सार्क, बिमस्टेकजस्ता क्षेत्रीय संगठनमार्फत भाइचाराको अभिवृद्धि तथा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफ्नो सक्रिया भूमिका निर्वाह गर्दै आएको छ ।

मत्स्यपालन, गार्मेन्ट, पर्यटन तथा कृषिमा संलग्न बङ्गलादेशमा चिकित्सा शिक्षाका लागि नेपाली विद्यार्थीलाई समेत अवसर प्रदान गर्दै आएको छ । पछिल्लो पटक नेपाल र बंगलादेशबीच विद्युत् व्यापार तथा ऊर्जा आदानप्रदानको क्षेत्रमा समेत सक्रिय संयन्त्र स्थापना भएको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १० : २६ बजे