११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु



गाजा सिटी (एजेन्सी)– प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका कमाण्डर बहा अबु अल–अताको इजरायली सेनाको कारवाहीमा मृत्यु भएको छ ।

मंगलबार बिहानै इजरायली सेनाले अताको घरमा गरेको कारबाहीमा उनको मृत्यु भएको हो ।

घटनामा दुई व्यक्ति मारिएका र उनीहरू अबु अल–अता र उनकी पत्नी रहेको इजरायली सेना र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

‘इजरायली सेना र इजरायलको शिन बेट आन्तरिक सुरक्षा बलले चलाएको संयुक्त कारबाही अन्तर्गत प्यालेष्टिनी कमाण्डर अल–अता बस्दै आएको भवनमा आक्रमण गरिएको र उनीसहित उनकी श्रीमतीको घटनास्थलमा नै मृत्यु भएको छ,’ इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अताको घरमा ठूलो आवाजसहित बिस्फोट भएको स्थानीयले बताएका छन् ।

अता नेतृत्वको इस्लामिक समूहले पनि घटनामा आफ्ना कमाण्डरको मृत्यु भएको पुष्टि गरेको छ । उक्त समूहले कमाण्डर अताको घरलाई उच्च सुरक्षा घेरामा राखिएको जनाएको छ ।

इजरायलले हालै आफ्नो भूमिमा भएका रकेट आक्रमणमा अताको सम्लग्नता रहेको र आगामी दिनमा पनि आक्रमणको तयारी गरिरहेको बताएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १२ : १३ बजे