काठमाडौं– आप्रवासी कामदारको अधिकार संरक्षण सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । अन्तरदेशीय राष्ट्रिय मानवअधिकार संस्थाबीच सहयोग आदानप्रदान गर्ने उद्देश्यले तीन दिने सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका छन् । ३० मुलुकका ६२ भन्दाबढी प्रतिनिधिको सम्मेलनमा सहभागिता रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । सम्मेलनमा मानवाधिकारका लागि विश्वव्यापी सञ्जाल, केन्या, मलेसिया, माल्दिभ्स, मङ्गोलिया, दक्षिण अफ्रिका, कतार, भारत, बङ्गलादेश, थाइल्याण्डलगायत श्रमिक लिने र आपूर्ति गर्ने मुलुकका मानव अधिकार क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि सहभागी छन् ।
अन्तरदेशीय सरकारी तथा गैरसरकारी संस्थाबीच संवाद र सहकार्यका माध्यमबाट प्रवासी कामदारका मानवधिकार संरक्षण तथा कामदारले भोग्नुपरेका समस्या समाधानका उयाय खोजिने सम्मेलनको मुख्य उद्देश्य छ ।
सम्मेलनमा आप्रवासी कामदारको व्यवस्थापन तथा प्रशासन, स्वच्छ एवं जिम्मेवार भर्ना प्रक्रिया, अनियमित आप्रवासन एवं मानव बेचबिखनका समस्या, आप्रवासी महिला कामदारको सुरक्षा र चुनौती, व्यवसाय र मानव अधिकारको जवाफदेहिता तथा न्यायमा पहुँचको सुनिश्चिततालगायत विषयमा छलफल हुनेछ ।
नेपाल तथा दक्षिण एसियाबाट खाडीलगायत अन्य मुलुकमा रोजगारीका लागि गइरहेको अवस्थामा भर्ना प्रक्रियालाई साझा अवसर र चुनौतीका रुपमा लिई आपसी सहयोग र समझदारीमार्फत आप्रवासनलाई सुनिश्चित, सुरक्षित र व्यवस्थित बनाउन सम्मेलन फलदायी हुने विश्वास गरिएको छ ।
नेपाल सरकारको आर्थिक सहयोगमा सुरु भएको सम्मेलनमा अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ), अन्तरराष्ट्रिय आप्रवासन संगठन (आइओएम) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी) ले सहयोग पुर्याएका छन् । सम्मेलनले काठमाडौं घोषणापत्र र कार्यान्वयन योजना समेत जारी गर्नेछ ।