४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

आलमको थुनछेक बहस लम्बियो



काठमाडौं– रौतहटको राजपुर बमकाण्डका अभियुक्त पूर्व राज्यमन्त्री मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस अझै केही दिनसम्म चल्ने सम्भावना छ ।

मुद्दाहरुको पक्षमा सरकारकातर्फबाट कैद तथा दण्ड सजाय दाबी भएपछि सोमबारदेखि आलम पक्षका वकिलहरुले बहस गरिरहेका छन् । आफ्नोतर्फबाट बहस गर्न आलमले जिल्लाका र काठमाडौंबाट बोलाएर समेत ३५ जना वकिललाई नियुक्त गरेका छन् । सोमबार र मंगलबार गरि ८ जना वकिलले आलमको पक्षमा बहस गरेका छन् ।

सोमबार देखि जारी बहसमा आलम पक्षका वकिलहरुले उनलाई थुना बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै आएका छन् ।

सोमबार वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, गोपालकृष्ण घिमिरेसहित अधिवक्ता सुनिल पोखरेल, कृष्ण घिमिरे र योगेन्द्रबहादुर अधिकारीले बहस गरेका थिए । मंगलबार आलमलाई थुनामा नराखी साधारण तारेखमा रिहाइ गर्नुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, यदुनाथ ढकाल र अधिवक्ता सतीश झाले बहस गरे ।

रौतहटको राजपुरमा पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम विस्फोट भएको र त्यसका मृतक तथा घाइतेलाई आलमको समूहले जिउँदै इँटाभट्टामा जलाएको प्रहरीको आरोप छ। गत असोज २६ गते नै पक्राउ परेका उनीविरुद्ध कात्तिक १८ गते जिल्ला अदालत रौतहटमा तीनवटा मुद्दा दर्ता भएका थिए । उनीविरुद्ध ज्यान मार्ने कसुर, कर्तव्य ज्यान तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १२ : ५५ बजे