काठमाडौं– श्रीलंकाको राष्ट्रपतिमा विपक्षी दलबाट उम्मेदवार बनेका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन् । उनले सत्तारुढ दलतर्फबाट उम्मेदवार बनेका सजिथ प्रेमादासलाई पराजित गरेका हुन ।
करिब १० वर्ष अगाडि रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेको राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित भएका हुन ।
७० वर्षीय राजापाक्षे श्रीलंकाली सेनाका पूर्व लेफ्टिनेन्ट कर्णेलसमेत रहेका थिए । उनी झण्डै ५३ प्रतिशत मत पाएर विजयी भएका हुन । राष्ट्रपतिमा नवनिर्वाचित राजापाक्षे पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन ।
प्रभावशाली तथा विवादास्पद नेता महेन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति रहेका थिए । उनकै कार्यकालमा गोटाबाया रक्षाामन्त्री थिए ।
राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता थिए भने ३५ जना उम्मेदवार प्रतिष्पर्धामा थिए । निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशाप्रियाले शनिबारको मतदानका क्रममा ८० प्रतिशत सहभागी भएको बताए ।
निर्वाचनका बेला उम्मेदवारहरुले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्यूनीकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए । मतदानका लागि देशभरी १२ हजारभन्दा बढी मतदान केन्द्र राखिएको थियो भने ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
–एजेन्सीको सहयोगमा