अमेरिकामा सन् २०२० मा हुने जनगणनामा अमेरिकामा बस्ने नेपालीहरु नछुटुन भन्ने उद्देश्यले यूएस नेपाली कम्प्लिट काउन्ट कमिटी गठन गरिएको छ । न्यूयोर्कमा रहेको १८ वटा विभिन्न संघसंस्थाका सदस्यहरु सम्मिलित कम्प्लिट काउन्ट कमिटीले जनगणनाको बारेमा जनचेतना जगाउने तथा जनगणनामा सबै नेपालीहरुलाई सहभागी गराउनको लागि सहयोग गर्ने छ ।
कमिटीले विभिन्न समुदायका अगुवाहरुसँग छलफल गरेर जनचेतना फैल्याउने काम गर्ने कमिटीका संयोजक दिपक काफ्लेले जानकारी दिए । युएस सरकारको तथ्यांक विभागको जनगणना २०२० सँग औपचारिक रुपमा दर्ता भई यो कमिटीले जनचेतना फैल्याउने काम गर्ने जिम्मेवारी पाएको संयोजक काफलेको भनाई छ ।
विगतको जनगणनामा जनगणनाको महत्वको बारेमा जनचेतनाको अभाव, नागरिकताको स्ट्याटस, सामुहिक रुपमा बसोकास गर्ने तथा व्यक्तिको व्यक्तिगत विवरण बाहिर जान सकिने डरका कारणले नेपालीहरुले जनगणनामा समावेश हुन नसकेको तथ्यलाई वैज्ञानिक ढंगबाट सर्वसाधारणलाई बुझाउनको लागि विभिन्न संघसंस्थाका पदाधिकारीहरु, तथा सरकारी अधिकारीहरुसँग मिलेर काम गर्ने छ । अमेरिकामा जनगणना २०२० को अप्रिल १ मा हुँदै छ ।