सिरहा– सोमबार राति सिरहाको लाहानबाट हराएको भनिएको डिजल बोकेको ट्यांकर मंगलबार फेला परेको छ ।
ढल्केबरबाट १० किलोमिटर दक्षिणमा पर्ने धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित रमदैयामा मंगलबार राति रित्तो अवस्थामा फेला परेको हो ।
ना.४ख ४१६३ नम्बरको टयांकर बाराको अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोबाट आइतबार २० हजार लिटर डिजेल भरेर विराटनगरतर्फ जाने क्रममा सोमबार राति अपहरण गरेको बताइएको थियो । मंगलबार बिहान १० बजे निगमलाई ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर ‘अपहरण’ मा परेको लिखित जानकारी गराएका थिए।
गुप्ताले ट्यांकर चालक रामदेव यादव र सहचालक उमेश यादवलाई छाडेर ट्यांकर लगेको दाबी गर्दै निवेदन दिएका थिए । आइतबार राति लाहान पुगेको र विश्राम गर्नका लागि राजमार्गको हुलाक अफिस अगाडि पार्किङ गरिएकै स्थानबाट अज्ञात समूहले लगेको उनको भनाइ थियो ।
टयांकर अपहरण भएको थियो या तेल बिक्री गर्न अपहरणको बहाना गरिएको थियो भन्ने खुलेको छैन । चालक र सहचालकले मुखमा पट्टी बाँधेर आएका ६/७ जनाको समूहले आफूहरुको आँखामा पट्टी बाँधेर जिपमा राखेर बर्दिबास र लालबन्दीबीचको जंगलमा छोडेर ट्यांकर लिएर भागेको बताएका छन् । टयांकर चालक रामदेव र सहचालक उमेशलाई नियन्त्रणमा लिएर घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
उक्त डिजेल बिक्री गर्दा करिब साढे १९ लाख रुपैयाँ पर्छ। करिब ६/७ वर्षअघि पनि अमलेखगन्जबाट काठमाडौं आउनुपर्ने १२ किलोलिटर इन्धन बोकेको ट्यांकर हराएको थियो। त्यतिबेला पम्पमा इन्धन बेचेको अवस्थामा बर्दिवासमा फेला परेको थियो ।
निगमले बनायो छानबिन समिति
नेपाल आयल निगमले ट्याकंर अपहरण प्रकरण छानबिन गर्न विराटनगर डिपो प्रमुख अशोक साहको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ ।
समितिमा अमलेखगन्ज डिपो, विराटनगर ढुवानी व्यवसायीका प्रतिनिधि र आयल निगमको केन्द्रीय कार्यालयका १/१ जना प्रतिनिधि तोकिएका छन् । उनीहरुलाई प्रतिवेदन बुझाउन एक साताको समय दिएको छ ।