३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहितका जनप्रतिनिधि धर्नामा



गोरखा- बुढीगण्डकी आयोजनास्थल आरुघाट बजार, धादिङको खहरे र गोरखाको आर्खेत क्षेत्रको मुआब्जा तत्काल तोक्न माग गर्दै जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।

पूर्वप्रधानमन्त्री तथा गोरखा २ का सांसद बाबुराम भट्टराई, राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीसहितको टोली बिहीबार बिहान १० बजेदेखि जिल्ला प्रशासनमा धर्नामा बसेका हुन्।

प्रशासन कार्यालयले मुआब्जा तोक्न आलटाल गरेपछि स्थानीयको दबावमा जनप्रतिनिधि आन्दोलित भएका हुन् । ५ वर्षदेखि जग्गा रोक्का राखेर अहिलेसम्म मुआब्जा नतोक्दा प्रभावित क्षेत्रका बासिन्दा मारमा परेको उनीहरुको गुनासो छ।

जिल्ला प्रशासन कार्यालयको आँगनमा ब्यानर राखेर जनप्रतिनिधि, स्थानीय र राजनीतिक दलका नेताहरु विरोधमा उत्रिएका छन्।

१० गतेसम्म मुआब्जा निर्धारण नभए थप आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्। शुक्रबार प्रशासन कार्यालयका धादिङमा र आइतबार बुढीगण्डकी आयोजनाको कार्यालय घ्याल्चोकमा धर्ना दिने कार्यक्रम तोकिएको बुढीगण्डकी सरोकार समिति आरुघाटले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  १ : १९ बजे