७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेसन गरियो



काठमाडौं— पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिस शल्यक्रिया गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा ओलीको एपेन्डीसाइटिसको शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि उनले केही दिन अस्पतालमै बस्नु पर्ने भएको छ ।

प्रधानमन्त्री ओली गत साउनदेखि मिर्गौला सम्बन्धी समस्याले डाक्टरको परामर्श, परीक्षण र उपचारमा छन् । उनको आइतबार साँझ ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलाइसिस गरिएको थियो।

ठूलो आन्द्रा र सानो आन्द्राको बीचमा भएको एउटा अंग एपेन्डिक्समा संक्रमण भएर पेट दुखेपछि एपेन्डेसाइटिस भएको मानिन्छ।

यो अंगमा पाचनलाई सघाउने ब्याक्टेरिया जम्मा हुन्छ। आन्द्रामा संक्रमण, पेटमा खराब ब्याक्टेरियाको वृद्धि लगायतका कारणले एपेन्डिक्स नलीमा अवरोध पुग्ने वा सुन्निने भएर एपेन्डिसाइटिस हुन्छ।

एपेन्डिसाइटिसको समस्या भएकामध्ये ३०–४० प्रतिशतमा एक्कासि नाइटो दुख्ने र ६–७ घण्टापछि दाहिनेतिरको तल्लो पेट दुख्ने गर्छ । कसैकसैको सिधै दाहिने पेटसमेत दुख्न थाल्छ। यो दुखाइ हरेक व्यक्तिमा फरकसमेत हुन सक्ने चिकित्सकहरु बताउँछन् । ८० प्रतिशत यसका विरामीमा दुखाइसँगै खान मन नलाग्ने, वान्ता हुने, ज्वरो आउने हुन्छ।

एपेन्डिसाइटिसमा कहिलेकाहीँ एपेन्डिक्स बिस्तारै कुहिने, फुट्ने हुन्छ। यो अवस्थामा पेटभरि संक्रमण सर्छ। यस्तो अवस्था भए पनि समयमै उपचार गरे बिरामी निको हुन्छ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १२ : ४० बजे