काठमाडौं– नेपाली कांग्रेसले नेपालका अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो देशको नक्सामा गाँसेर नक्सा सार्वजनिक गरेको सम्बन्धमा तत्काल परिणाममुखी कूटनीतिक र राजनीतिक पहल थाल्न सरकारलाई पुनः आग्रह गरेको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले मंगलबार एक विज्ञप्तिमार्फत कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको दोहोर्याउँदै त्यहाँबाट भारतीय सुरक्षा बल फिर्ता हुनुपर्ने जनाएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उक्त विषयमा कूटनीतिक र राजनीतिक पहल थाल्न सरकारलाई कांग्रेसको दृढ साथ रहने दोहोर्याइएको छ ।
उक्त विषयमा नेपाल सरकारले उच्च स्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकतासमेत निर्माण भएको अवस्थामा सरकारले गम्भीर कूटनीतिक पहल गरेको नसुनिएको र उच्चस्तरीय राजनीतिक संवादसमेत गरेको नदेखिएको कांग्रेसको आरोप छ ।
‘राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ भन्ने कांग्रेसको प्रस्ट मान्यता छ । त्यही मान्यताको जगमा संविधान निर्माणको ऐतिहासिक दायित्व पूरा गर्न काँग्रेसको नेतृत्वमा देशले सफलता हासिल गर्यो । कालापानी प्रकरणमा परीक्षाको यही दायित्व पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आइपुगेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले सरकारलाई देशको वास्तविक नक्सा सार्वजनिक गर्न र गम्भीर कूटनीतिक पहलकदमी गर्न अलमल किन भनी प्रश्न गर्दै उच्चस्तरीय राजनैतिक संवादमार्फत परिणाम हासिल गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।