१४ आश्विन २०८०, आइतबार | Mon Oct 2 2023

इराकमा तीन वटा बम विस्फोटमा ६ जनाको मृत्यु, १७ घाइते



काठमाडौं– इराकको राजधानी बग्दादमा तीन वटा बम विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । इराकी गृह मन्त्रालयका अनुसार मंगलबार भएको उक्त घटनामा अन्य १७ जना घाइते भएका छन् ।

बग्दादमा मंगलबार बेलुकीको समयमा तीन वटा बम विस्फोट भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।

बग्दादको उत्तरपू्र्वी क्षेत्रमा पर्ने चर्चित बजार अल शाबमा एउटा मोटरसाइकल बम विस्फोट भएको थियो । अर्को विस्फोट बग्दादको दक्षिणपूर्वी क्षेत्रमा पर्ने अल बैया क्षेत्रमा भएको समाचारमा जनाइएको छ । त्यहाँ चार जना घाइते भएका थिए ।

तेस्रो विस्फोट राजधानी बग्दादको पूर्वी क्षेत्रमा पर्ने अल बालाडियटमा भएको हो । यहाँको विस्फोटमा ४ जना घाइते भएका थिए ।

विस्फोटको घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । तर यस क्षेत्रमा इस्लामिक स्टेट (आईएस) का लडाकूहरुले यसअघि धेरै हिंसात्मक घटना गराएकाले यो घटनामा पनि उनीहरुकै संलग्नता रहेको हुन सक्ने कतिपयको आशंका छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : ४० बजे