४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, १८ जना घाइते (मृतकको नामसहित)



अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । १८ जना घाइते छन् ।

दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये एक जनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सन्धिखर्कबाट बुटबलका लागि दिउँसो साढे १ बजे छुटेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते १८ मध्ये ७ जनाको भैरहवा र ९ जनाको बुटवलमा उपचार भइरहेको छ । दुई जना उपचारपछि घर फर्किएका छन् ।

दुर्घटनामा सन्धिखर्क नगरपालिका–७ डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, २२ वर्षीया माया पुरी, नाम नखुलेका छ महिने बालक, सन्धिखर्क–७ डिहीडाँडाका ५४ वर्षीय बलराम भट्टराई, ८ वर्षीया मोनिका खड्का छन् । कपिलवस्तु चपरगाउँ बस्ने २७ वर्षीया सीता बस्नेत, अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको थियो ।

सन्धिखर्क नगरपालिका–१० बस्ने छविलाल गैरे, गाडी चालक कपिलवस्तु जिल्ला अन्दाजी ३६ वर्षीय वसन्त भन्ने ओमबहादुर थापा, अर्घाखाँची सितगङ्गा नगरपालिका–२ बस्ने सवारीधनी ३८ वर्षीय सन्तबहादुर बस्नेतको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । गुल्मी धुर्कोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महतको मात्र सनाखत भएको छ । मृत्यु हुने अन्य ८ जनाको सनाखत हुन बाँकी छ । शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  ११ : ३२ बजे