वासिङ्टन– अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको विमान दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधीमा परेर दुर्घटनाग्रस्त भएको उक्त विमानमा यात्रारत अरु तीन जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा दुई बालबालिका समेत छन् ।
एकल इन्जिनको पिलाटस पिसी–१२ नामको उक्त बिमान च्याम्बरलेन विमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय उड्डयन कार्यालयले जनाएको छ ।
मृत्यु हुनेहरुमा विमानका पाइलट पनि रहेका छन् । विमानमा कूल १२ जना सवार थिए । उक्त विमान छिमेकी इडाहो राज्यको इडाहो फल्स क्षेत्रीय बिमानस्थलतर्फ उडिरहेको थियो ।
अमेरिकी सञ्चार माध्यमका अनुसार घाइतेहरुलाई राज्यको सिओक्स फल्स नामक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
अमेरिकी नागरिक उड्डयन कार्यालयले उक्त विमान दुर्घटनाका बारेमा छानबिन थालेको जनाएको छ । साउथ डकोटाको च्याम्बरलिन क्षेत्रमा बाक्लो हिउँ सहितको आँधी आएका कारण विमानका उडानहरु प्रभावित भएका छन् ।