६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

उपनिर्वाचन : ५२ मध्ये ५० स्थानमा कसले कति जिते



काठमाडाैं– प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनबाट ५० स्थानको नतिजा सार्वजनिक भएको छ । पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा छ । हालसम्म घोषित ५० स्थानको मतपरिणाममा नेकपाले २९ स्थानमा विजय हासिल गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा छ । समाजवादी पार्टी नेपालले ४ स्थानमा जितेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार ३ स्थानमा विजयी भएका छन् भने एक स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र २३ वडाध्यक्ष पद जितेको छ । काँग्रेसले भने एक प्रदेशसभा सदस्य र ११ वडाध्यक्षमा विजय हासिल गरेको हो ।

समाजवादीका उम्मेदवार चार र राजपाका उम्मेदवारले तीन वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवारले बागलुङमा प्रदेशसभा सदस्य जितेका छन् भने एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा विजय हासिल गरेको निर्वाचन आयोगबाट थाहा भएको छ ।

धरान उपमहानगरपालिकाको प्रमुखको पछिल्लो मतपरिणामअनुसार काँग्रेसका तिलक राईले २५ हजार ९९५ र नेकपाका प्रकाश राईले २३ हजार ३९२ मत पाएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १० : ३३ बजे