प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, एक–दुई दिनमै डिस्चार्ज गरिने

२०७६ मंसिर १९, बिहीबार ११:१९

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक/दुई दिनमै अस्पतालबाट डिस्चार्ज गरिने तयारी भएको छ। उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको र यस्तै सुधार भइरहे डिस्चार्ज गर्न सकिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीलाई ९ दिनअघि एपेन्डिसाइटिस भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि उनलाई आईसीयूमा राखिएको छ । उनलाई शनिबार र आइतबार दुईपटक डायलसिस गरिएको थियो ।

प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको ठाउँमा भएको घाउ निको भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीलाई घरमै आराम गर्दा पनि त्यति अप्ठ्यारो नहुने देखिएको बताएका छन् ।

सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा ६७ वर्षीय प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । हाल उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि तयारी गरिँदै छ ।

सम्बन्धित समाचार