मिनि जनमत संग्रहको रुपमा हेरिएको उपनिर्वाचन सम्पन्न भएको छ । यसमा सबैभन्दा पहिलो स्थानमा सत्तारुढ नेकपा, दोस्रोमा प्रमुख विपक्षी काँग्रेस र तेस्रो स्थानमा संघीय समाजवादी आएको छ । जुन यसअघिको सरकार बनाउने र स्थानीय चुनावको बेलाको नतिजा अनुसार नै हो ।
बहुमत स्थानीय निकायको नेतृत्व गरेको र दुई तिहाई बहुमतको सरकार चलाईरहेको सत्तारुढ नेकपाको कार्यसम्पादनको लोकप्रियता जाँचिने भनेर आँकलन गरिएको यस उपनिर्वाचनले केही उथलपुथल देखाएन । सत्तारुढ दलको लोकप्रियतामा ह्रास आएको वा सत्ताभन्दा बाहिर रहेका दलहरुको लोकप्रियता बढेको वा नयाँ शक्ति हौं भन्नेहरुतर्फ जनता ढल्किएको केही पनि देखिएन ।
खासमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी काँग्रेसले केही स्थान विशेषमा एउटाको स्थान अर्कोले लिने बाहेक ५२ क्षेत्रमा भएको यस उपनिर्वाचनले तात्विक भिन्नता देखाएन । ३० स्थानमा जितेर नेकपा पहिलो स्थानमै रह्योभने १३ स्थानमा जितेर काँग्रेस दोस्रो स्थानमै रहेको छ । संघीय समाजवादीको पनि हैसियत उक्लिन सकेन । जम्मा चार सिट जितेर तेस्रो स्थानमा रह्यो ।
कांग्रेसले धरानमा वामपन्थीहरुको गढ भत्काएर झण्डा फहरायो । भक्तपुरमा पनि यसअघि तत्कालिन एमालेले जितेको स्थानमा आफ्नो बिजय सुनिश्चित गर्यो । यस अर्थमा हेर्दा कांग्रेसको लागि उपनिर्वाचन सुखद रह्यो । तर, सधै जित्दै आएको आफ्नो गढ मानिएको पाँचथरको फाल्गुनन्द गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिकालाई कांग्रेसले जोगाउन सकेन । दुवै स्थानमा सत्तारुढ नेकपाले झण्डा गाढे ।
कांग्रेसले चितवनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने वडाध्यक्षमा जित्यो । यद्यपी त्यस क्षेत्रमा २०७४ सालमा मात्र एमालेले जितेका हुन्, त्यसअघि त्यस क्षेत्र कांग्रेसकै गढ मानिन्थ्यो ।
बाग्लुङ–२ (ख) जितेर जनमोर्चाले आफ्नो विजय जारी राखेका छन् । जनमोर्चाको प्रभाव क्षेत्रको रुपमा रहेको त्यस क्षेत्रमा यसअघिको चुनावमा पनि एमाले र माओवादीले जनमोर्चालाई समर्थन गरेका थिए । अहिले सत्तारुढ दल नेकपाको समर्थनमा जनमोर्चा जित हाँसिल गरेको हो ।
यो उपचुनावले केही तथ्यहरु उजागर गरेको छ । पछिल्लो समय बुद्धिजीविहरुको एउटा समुह विभिन्न विषयहरुलाई लिएर सरकारको लोकप्रियता कमजोर भएको विश्लेषण गरिरहन्थे । उनीहरु सरकारले सेवा दिन नसकेको कुरालाई जोड तोडको साथ उठाउँथे । अझ स्थानीय सरकारले गरेका कामकारवाहीले जनता वाक्कदिक्क भएको कुरामा उनीहरु ढुक्का थिए । जब जनता वाक्क दिक्क भएको हुन्छ, पक्कै पनि जनतम सरकारको विपक्षमा जाने छ भन्ने कुरा स्पष्ट हो । तर, त्यो आँकलन फेल खायो । जनतामा अझै पनि यही सरकारप्रति विश्वास भएको देखियो ।
अर्को विचार प्रवाह नयाँ शक्तिका रुपमा आफुलाई व्याख्या गर्ने साझालगायतका दलहरुको थियो । उनीहरुको भनाई र बुझाइमा पुराना दलहरु कामै नलाग्ने भए, तिनीहरु भ्रष्ट र देश विकासमा चासो नराख्ने आफ्नो दुनो सोझ्याउन मात्र पल्केका हुन् भन्ने थियो । तर, मत परिणामले उनीहरुलाई पत्याएको देखिएन । बरु नेकपासँग असन्तुष्टले कांग्रेस रोजेको र कांग्रेससँग असन्तुष्टले नेकपा रोजेको देखियो । तर, नयाँ सोचका साथ आएका भनिने दलहरुलाई जनताले रोजेनन् ।
यसबाट स्पष्ट हुने कुरा भनेको अझै पनि जनताले पुराना दलहरुबाट नै विकास र समृद्धि खोजेका छन् । उनीहरुप्रति नै भरोसा गरेका छन् । दुई तिहाईको बहुमतवाला सरकारसंग अपेक्षा राखेका छन्, सेवा दिने र विकास गर्ने कुरामा । त्यसैले यि दलहरुले बेलैमा सचेत हुनुपर्छ । आफ्ना कमजोरीहरु सच्याउनु पर्छ, नेपाली जनताको विश्वास जगाई राख्नु पर्छ । समय घर्कियो भने त्यसले पर्खने छैन ।