महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागरका अनुसार शुक्रबार बिहान साढे १० बजे सशस्त्र प्रहरी बिओपी जलेश्वरबाट खटिएको गस्ती टोलीले लचका पुलमूनि रहेको खरमा कुनै वस्तु टल्किरहेको देखेपछि नजिक गएर हेर्दा त्यहाँबाट पेस्तोल र ५ राउन्ड गोली बरामद गरेको हो ।
इन्डियन ओरनान्स कम्पनीबाट सन् २००५ मा बनेको ७.६५ एमएम लेखिएको पेस्तोल थान एक, त्यसमा म्याग्जिन थान एक र म्याग्जिनभित्र पाँच राउन्ड गोली लोड रहेको अवस्थामा फेला परेको हो ।
बरामद पेस्तोल, म्याग्जिन र गोली आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाउन पठाइएको छ । उक्त पेस्तोल र गोली कसले, किन र कहिले त्यहाँ फालेको तथा कसको रहेका बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।