३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

वातवारण र शान्ति प्रेमी सिक्किमबासीको अविष्मरणीय माया


Ang

२१ मंसिर २०७६, शनिबार  

0
Shares

  • आङछिरिङ शेर्पा

सिक्किमको बारेमा धेरै सुनेको थिए । तर, पुग्ने अवसर जुरेको थिएन । यस पटक विश्व शेर्पा दिवसको अवसरमा अक्टोवरको ७ तारिखका दिन सिक्किम पुग्ने अवसर जुर्यो । हामीले महिनौदेखि सिक्किम जाने चाहना र योजना बनाएका थियौं । काठमाडौंबाट भद्रपुरसम्म विमानमा र त्यहाबाट शेर्पा संघका अध्यक्ष एडी शेर्पाको हाइल्याण्डर गाडीमा हामी सिक्किमतिर लाग्यौं । त्यसदिन बुद्ध एयरको उडानमा आधा भन्दाबढि हामीले नै भरिएको थियो । जहाजबाट झरेर संघीय सांसद जिपछिरिङ लामा शेर्पा, पूर्व राजदुत लक्की शेर्पा, शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पासगै हामी अघि बढ्यौं । भद्रपुरबाट काकडभिट्टामा पुगेर हामीहरुले खाना खायौं । काकटभिट्टाबासी शेर्पाहरुसग परिचय भयो । परिचयको क्रममा केही सोलुबाट आएकाहरु त्यहा भेटिए । त्यसदिन काठमाडौंबाट विमान, बसमा र प्राइभेट कारमा गरि ४० भन्दाबढि हामी शेर्पाहरु काठमाडौबाट सिक्किमतिर यात्रा गरिरहेका थियौं । प्राइभेट कारबाट प्रदेश सभासद डिन शेर्पा र सोलुखुम्बुको मेयर नाम्गेल जाङबु लगायत प्रतिनिधिहरुसंगै यात्रामा थियो ।


बाटोमा चेकजाच गरि साँझ नपर्दै हामी सिक्किम पुग्यौं । बाटो बाटो सबैले देखिने ठाउमा ग्लोबल शेर्पा दिवसको व्यानरहरु टांगेका थिए । सिक्किम पुग्न लाग्दा त्यहाको सफा र सुन्दर बस्तीले मन एक्कासी लोभ्यायो । प्राकृतिक सुन्दरताले भरिएको सिक्किमको सरकारी भवनको गेटहरु र पुलको पिलारहरुमा रंगाएको कलाकृतिले हामीलाई स्वागत गरे झै लाग्थ्यो । हामी सरकारी विशेष अतिथि निवासतर्फ लाग्यौं । बाटोमा सुरक्षाकर्मीहरु खटिएका थिए । कारमा अघि बढ्दै गर्दा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुले हामीलाई गरेको सत्कार र व्यवहार देख्दा हामीलाई सिक्किम सरकारकै उच्च पाहुना हुँ झैं लाग्थ्यो । त्यतिखेर मनमा एकछिन नेपालका सुरक्षाकर्मी सम्झें, उनीहरुले बेला बेलामा प्रयोग गदै आएको बोलि सम्झन्दा सिक्किमका सुरक्षाकर्मी निक्कै सभ्य, बुद्धिमानी र शान्त लाग्यो । हामी सरकारी अतिथि गृहमा पुग्ने वित्तिकै सिक्किम सरकारमा शेर्पा समुदायबाट पहिलो मन्त्री हुनु भएका एमएन शेर्पाले हामीलाई न्यानो आतिथ्य सत्कार गर्नुभयो । निकै नम्र र शिष्ट मन्त्रि एमएन शेर्पाको विचार र भावनाबाट हामीहरु प्रभावित भयौं । हामी बसेको अतिथि गृह सिक्किम बजारबाट अलि माथि उचाईमा थियो । उचाइमा आइरहेको मन्द चिसोले हिउद आगमानको संकेत दिइरहेको थियो । बेलुकी मिठो गफगफ गर्दै सिक्किमको मिठो खानासंगै मस्त निदायौं ।


भोलिपल्ट विहान अक्टोबर ८ तारिख । विहानै झ्यालबाट हेर्दा सुन्दर हिमालहरु हाासिरहेका थिए । त्यो विहानीले मन निकै प्रफुल्लित तुल्यायो । आफ्नै गाउबस्तीमा गाउने चराचुरुङगीहरुको मिठो स्वरले मनलाई ताजा बनायो । निर्धारित तालिका अनुसार त्यसदिन विहानै हामी ग्लोबल शेर्पा दिवस मनाउने क्रममा गुम्बा दर्शनका लागि पुग्यौं । गुम्बा मर्मतको क्रममा थियो । गुम्बाको दर्शनसंगै मिठो चिया, खाना खायौं । फर्कने बेला गुम्बा कमिटिको अनुरोधमा हामीहरुले गुम्बालाई करीब २ लाख भारतीय रुपैया सहयोग गर्नु पाउदा निकै खुसी लाग्यौ । त्यसपछि कार्यक्रम स्थलतिर लाग्यौं । कार्यक्रम स्थल निकै व्यवस्थित रुपमा सजाइएको थियो । न्यानो आतिथ्य सत्कारको साथ ग्लोबल शेर्पा दिवस कार्यक्रममा भेला भयौं । सन् २०१७ मा काठमाडौंमा सम्पन्न पहिलो विश्व शेर्पा सम्मेलन कै कारण सिक्किममा आयोजित दोश्रो ग्लोबल शेर्पा दिवस मनाउने अवसर हामीले पाएका थियौं । विहानी उद्घाटन, ग्लोबल शेर्पा सम्बन्धि मन्तव्यहरु र विधान संशोधन गरि पहिलो दिनको कार्यक्रम निकै फलदायी भयो । दोश्रो दिन विहानै हामीहरु सबै सिक्किमबासी शेर्पाहरु र विभिन्न संस्थाका प्रतिनिधिहरुसंगै गान्धी रोडमा भेला भएर परेड गर्दै कार्यक्रम स्थलमा पुग्यौं ।

सबै जना परेडमा रमाइरहेको बेला आफु भने कार्यक्रम सञ्चालनको लागि हतारहतार हलमा फर्कनु पर्यो । विहान ठिक १० बजे, निर्धारित समयमै प्रमुख अतिथिको आगमान भएकोले कार्यक्रम शुरु गरियो । भरिभराउ हलमा प्रमुख अतिथिको रुपमा सिक्किम सरकारका मुख्य मन्त्री पिएस गोले थिए भने विशेष अतिथिको रुपमा सिक्किम सरकारका चार जना मन्त्रीलगायत नेपालका सासद जिपछिरिङ लामा शेर्पा र प्रदेश सभासद् डिएन लामा शेर्पा थिए । उहाहरुसगै कार्यक्रममा विश्वका विभिन्न १५ मुलुकबाट त्यहा पुगेका शेर्पा संस्थाको प्रतिनिधिहरुलगायत सिक्किमस्थित डेन्जोङ शेर्पा एसोसियसन र दार्जिलिङ शेर्पा संघका प्रतिनिधिहरु उपस्थित थिए । कार्यक्रममा सिक्किमबासी शेर्पाहरुले शेर्पा भाषा र संस्कृति संरक्षण गरेको उदाहरणीय प्रस्तुतिहरु देख्न पाइयो । शेर्पा भाषाको गीत र नृत्य मात्र समेटेको कार्यक्रममा डेन्जोङ शेर्पा एसोसियसनले निकै मेहेनतका साथ व्यवस्थापन गरेको देखियो ।


कार्यक्रममा सानासाना बालबालिकाहरुले शेर्पा भाषामा कविता, गीत र नृत्य प्रस्तुत गरेको निकै रोचक लाग्यो । ‘पृथ्वी जोगाऔं र हिमाल जोगाऔं’ भन्ने मूल नाराका साथ सिक्किममा ग्लोबल शेर्पा कार्यक्रम गरेकोमा मुख्यमन्त्री पिएस गोलेलगायत सबै सरकारी प्रतिनिधिहरुले निकै खुशी व्यक्त गरेका थिए । त्यस कार्यक्रमले सिक्किम र ग्लोबल शेर्पा दुबैको उत्तिकै प्रचार भयो । पहिलो र दोश्रो दिनको कार्यक्रम सकेपछि डेन्जोङ शेर्पा एसोसिएसनको संयोजनमा सिक्किमको विभिन्न शेर्पा गाउहरुको भ्रमणका क्रममा शेर्पा लुक्सुल छोढक माखिमले हामीहरुलाई भव्य स्वागत गरे । गाउमा ठुलो लामा गुरुहरु आएझंै सिक्किमबासी गाउलेहरुले हामीलाई निकै न्यानो सत्कारसंगै मौलिक ढंगले हामीलाई सम्मान गरे । त्यो रमणीय ठाउमा गरेको न्यानो आतिथ्य सत्कार र माया अविष्मरणीय रह्यो । सिक्किमको शेर्पा गाउ गाउ भनिए पनि निकै विकसित लाग्यो ।

सिक्किम सहरबाट लामो यात्रा गरि पुगिने त्यहाका गाउलेहरुले शेर्पा भाषा, धर्म र संस्कृतिको संरक्षणसंगै आफन सन्तानहरुलाई शैक्षिक क्षेत्रमा अघि बढाएको देख्दा निकै खुसी लाग्यो । ती गाउहरु हेर्दा नेपालका कतिपय शेर्पा गाउहरु सम्झें । नेपालका कतिपय शेर्पा गाउहरु अझै पनि भाषा, धर्म र संस्कृति जोगाउदै आएपनि सन्तानलाई शिक्षा दिन सकेका छैनन् ।
सिक्किमका शेर्पा गाउहरुमा पर्यटकको लागि होमस्टे अवधारणमा अघि बढिसकेका रहेछन् । समय अभावले यस पटक अघाउन्जेल सिक्किम घुम्न पाइएन । कतिपय धार्मिक स्थलहरु, प्राकृतिक सौन्दर्यहरु र पर्यटकको लागि बनाइएका महत्वपूर्ण स्थानहरुमा जाने इच्छा हुदाहुादै पनि जान सकिएन । यस पटकको भ्रमणमा सिक्किमबासी शेर्पा समुदायले आफनो भाषा, धर्म र संस्कृति जोगाउनका लागि गरेको मेहनत अति नै प्रशंंसनीय लाग्यो । शेर्पा भाषा संरक्षणको कार्यमा साथ दिने सिक्किम सरकारलाई हार्दिक धन्यवाद नदिइ रहन सकिन्न । त्यस्तै शैक्षिक क्षेत्रमा सक्रियताका साथ अघि बडेको शेर्पा युवाहरु विभिन्न क्षेत्रमा लागेको देख्दा खुसी लाग्यो । पछिल्लो समय राजनीतिमा पनि सिक्किमका शेर्पा युवाहरुको अग्रसरता हेर्दा भविष्यमा धेरै शेर्पा मन्त्री सिक्किममा नै होला की झैं लाग्यो । प्राकृतिक सुन्दरताले भरिपूर्ण सिक्किम, वातवारण प्रेमी सिक्किम सरकार र शान्ति प्रेमी सिक्किमका शेर्पा समुदाय अनि डेन्जोङ शेर्पा एसोसियसनलाई न्यानो स्वागत सत्कारका लागि धन्यवाद । फेरि भेटौला ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ११ : ५३ बजे