१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

चितवनमा भएको अटो दुर्घटनाका मृतक ५ जनाकै सनाखत



चितवन– राप्ती नगरपालिका–५ को भण्डरा मलेखु सडकमा शनिबार साँझ भएको अटो दुर्घटना हुँदा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । एक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ का ४२ वर्षीय विश्वमणी भण्डारी र राप्ती नगरपालिका–९ की २५ वर्षीया मीना खड्का रहेका छन् ।

उनीहरुको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै मृत्यु हुनेमा राप्ती नगरपालिका–९ की ३२ वर्षीया माया तामाङ र खैरहनी नगरपालिका–३ की ३९ वर्षीया मनमाया नेपाली रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

अटोचालक खैरहनी नगरपालिका–३ का २६ वर्षीय मणिराम गिरी घाइते छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

शनिबार साँझ राप्ती नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती नगरपालिका–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो । उनीहरु सामूहिक वनभोजका लागि गएको र फर्कने क्रममा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्लाका निर्माणाधीन पहाडी सडकहरुमा हाल अटो रिक्सा निकै नै चल्ने गरेका छन् । क्षमताभन्दा बढी मान्छे राख्ने, कच्ची र उकालो घुमाउरो सडकमा पनि अटो रिक्सा तीव्र गतिमा हाक्ने गरेको देखिन्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १० : २२ बजे