४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकले गर्‌यो झन् कडाइ



काठमाडौँ — नेपाल राष्ट्र बैंकले अमेरिकी डलरलगायत परिवर्त्य विदेशी मुद्रा सटहीमा झन् कडाइ गरेको छ।

यसअघि १० हजार डलरसम्म सोझै सटही गर्न सकिन्थ्यो। अब कम्पनीले १० हजार माथिलाई नियामक निकायको सिफारिस लिनुपर्छ भने सोझै ३ हजार डलर मात्र लिन पाउँछन् ।

यही क्रममा कम्पनीले फुटवेयर खरिद वा मर्मत गरी भुक्तानी पठाउने रकम वाणिज्य बैंकमार्फत साट्न पाउने विदेशी मुद्राको सीमा पनि घटाएको छ।

अब कम्पनीले सम्बन्धित नियामक निकायबाट पनि विदेशी मुद्रा सटहीसम्बन्धी सिफारिस लिनुपर्नेछ। यो चालु आर्थिक वर्षको मौद्रिक नीतिमा घोषित व्यवस्था हो। सोही व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले अहिले निर्देशन दिएको हो।

‘सफ्टवेयर खरिद वा मर्मत गरी भुक्तानी पठाउने रकमको सटही अनुमति प्रदान गर्दा सम्बन्धित नियामक निकायको सिफारिस आवश्यक हुने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ। नयाँ व्यवस्थाअनुसार अब कम्पनीहरूले वाणिज्य बैंकबाट ३ हजार डलर वा सो बराबर परिवर्त्य विदेशी मुद्रा मात्र सिधै सटही गर्न सक्नेछन्।

३ हजार देखि १० हजार अमेरिकी डलर वा सो बराबर अन्य परिवर्त्य विदेशी मुद्रा सटही गर्दा सम्बन्धित नियामक निकायको सिफारिस पनि लिनुपर्नेछ। यसअघि १० हजार डलरसम्म सटही गर्दा कुनै पनि निकायको सिफारिस लिनु नपर्ने व्यवस्था थियो।

‘नियामक निकायबाट सम्झौता/सहमति, स्वीकृति वा सटही सिफारिसका आधारमा सटही रकम पुष्टि हुने कागजात लिई अमेरिकी डलर ३ हजारभन्दा अधिक १० हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म ड्राफ्ट/टीटीको माध्यमबाट वाणिज्य बैंकहरूबाट नै सटही सुविधा प्रदान गर्न सकिनेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।

अमेरिकी डलर १० हजारभन्दा बढी विदेशी मुद्रा सटही गर्नुपरे नियामक निकायको सिफारिस भए पनि राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। यस्तै नियामक निकाय नभएको वा नियामक निकायको सिफारिस जुटाउन नसकेको अवस्थामा अमेरिकी डलर ३ हजार वा सो बराबर अन्य परिवर्त्य विदेशी मुद्राभन्दा अधिक रकम भुक्तानी लिन राष्ट्र बैंक जानुपर्ने व्यवस्था भएको छ। यसको अर्थ कम्पनीहरूले सटही गर्ने विदेशी मुद्रामा पनि कडाइ गरिएको भन्ने हो।

राष्ट्र बैंकले गत वर्ष नै पासपोर्टको आधारमा नागरिकले पाउने सटही सुविधा घटाएर प्रतिव्यक्ति १५ सय बनाएको छ। त्यसअघि प्रतिव्यक्ति २ हजार ५ सय डलर थियो।

प्रतिव्यक्ति १५ सय डलरसम्म सटही सुविधा भए पनि ट्राभल एजेन्सीहरूले बिक्री गरेको ट्राभल प्याकेज बापत प्रतिव्यक्ति थप १ हजार डलर विदेशी मुद्रा साट्न पाइन्थ्यो। यो ट्राभल प्याकेजबापत एजेन्सीले सटही गर्न पाउने विदेशी मुद्रा हो। अहिले राष्ट्र बैंकले त्यो सुविधा पनि हटाएको छ।

अब प्याकेज बिक्री गरेबापत एजेन्सीहरूले थप सुविधा पाउँदैनन्। नयाँ व्यवस्थाअनुसार ट्राभल प्याकेज मै विदेश गए पनि प्रतिपासपोर्ट पाइने सटही सुविधा १ हजार ५ सय हो। मुलुकमा विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि उचित व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले कडाइ गरेको हो।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १२ : ४९ बजे